स्पेनिस ला लिगामा सेभिया र लेभान्टे १-१ गोलको बराबरीमा रोकिए

आषाढ ०२,२०७७

-

असार २, २०७७ काठमाडौं ।
 
स्पेनिस ला लिगामा सोमबार रातिका दुई खेल बराबरीमा टुंगिएका छन् ।
 
ला लिगामा सेभिया लेभान्टेसँग १-१ गोलको बराबरीमा रोकिएको छ । भ्यालेन्सियामा सोमबार राति भएको खेलमा घरेलु टोलीलाई दवावमा राखे पनि आफ्नै गल्तीमा सेभिया बराबरीमा रोकियो ।
 
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफको शरुमै लुक डि जोङले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए ।
 
खेल सकिन तीन मिनेट बाँकी रहँदा डिएगो कार्लोसले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा आयो ।
 
बराबरीसँगै तेस्रो स्थानमा रहेको सेभियाको ५१ अंक पुगेको छ । लेभान्टे ३५ अंक जोडेर एक स्थान माथि १२औं स्थानमा रहेको छ ।
 
सोमबार रातिकै खर्को खेलमा रियल बेटिस र ग्रानडाले पनि बराबरी खेलेका छन् । रियल बेटिस र ग्रानडाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
 
रियल बेटिसका सर्जियो केनालेस र क्रिस्टियन टेलोले गोल गरे । ग्रानडाका कार्लोस फर्नान्डेज र रोवर्टो सोल्डाडोले गोल गरे ।
 
बराबरीसँगै ग्रानडाले भिल्ला रियललाई एक अंकले पछि पार्दै आठौं स्थानमा उक्लिएको छ । रियल बेटिस १३औं स्थानमा छ ।