स्वदेशकै विद्युत खपत बढाउनुपर्ने बहस भैरहदा भारतबाट १ अर्ब बढीको विद्युत आयात गर्न स्वीकृत

आषाढ ०५,२०७७

-

असार ५,२०७७ काठमाडौं ।
विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणले मागेको भन्दा बढी विजुली भारतसँग किन्न स्वीकृत दिएको छ । प्राधिकरणले चालू आर्थिक वर्ष (२०७६/०७७) २ अर्ब ७९ करोड २० लाख युनिट विद्युत आयात गर्नुपर्ने भनेतापनि आयोगले १३ करोड ३७ लाख ३० हजार युनिट बढी विद्युत भारतबाट आयात गर्न स्वीकृति दिएको छ । 
 
आयोगले २ अर्ब ९२ करोड ६० लाख युनिट विद्युत आयात गर्न स्वीकृत दिएको हो ।  आयोगले अनुमानित आयातको परिणामलाई सामायोजन गरी सो विद्युत किन्न अनुमति दिएको भनेको छ । 
 
२० अर्ब रुपैयाँको विद्युत आयात गर्ने प्राधिकरणले अब आयोगको निर्णय मान्नुपर्दा  अब झण्डै १ अर्ब रुपैयाँ बढी विद्युत आयातमा थप हुने देखिन्छ । बढी विद्युत खरिद प्रस्ताव भएपनि कोरोना महामारी (कोभिड-१९) को असरले उद्योगधन्दा बन्द भएका कारण विद्युतको मागमा कमी आई भारतबाट हुने आयातमा निकै कमी हुने उसको तर्क छ । यद्यपि, प्रस्ताव गरेको विद्युतभन्दा बढी खरिदका लागि किन स्वीकृति दिनुपर्यो भन्ने विषय भने आयोगले खुलाएको छैन ।
 
भारतबाट विद्युत आयात घटाउनुपर्ने र स्वदेशकै उत्पादन खपत बढाउनुपर्ने बहस भइरहेका बेला आयोगले यस्तो निर्णय गरेको छ । विद्युत महसुल दर घटाएर राहत दिएको आयोगले आयात भने बढाएर स्वीकृत गरेको हो ।