योग दिवसमा प्रधानमन्त्रीको सन्देशः कोरोनासँग जुध्न योग साधना र अभ्यासलाई जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न आह्वान

आषाढ ०७,२०७७

-

असार ७,२०७७ काठमाडौं ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरससँग जुध्न औषधीय गुणयुक्त आहार, ब्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्वपूर्ण भएको बताएका छन् ।

 

छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिएको शुभकामना सन्देशमा आहार र ब्यायामको विषय पुनः दोहोर्‍याएका हुन् ।

 

‘यतिबेला सिंगो विश्वसँगै हामी पनि कोरोना भाइरसको महामारीसँग जुधिरहेका छौं । यस्तो बेला औषधीय गुणयुक्त आहार, ब्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्वपूर्ण विषय हुन् । यी विषयमा योग शास्त्रले ज्ञान दिंदै आएको छ,’ प्रधानमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।

 

योग साधना र अभ्यासलाई जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न आह्वान गर्न पनि उनले आह्वान गरेका छन् ।

 

‘आधारभूत स्वास्थ्य सेवा भित्र योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा समेत जोड दिंदै हामी निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्दछौं । समृद्ध नेपाल–सुखी नेपाली हाम्रो राष्ट्रिय आकाङ्क्षा छ । शारीरिक एवं मानसिक रुपले स्वस्थ्य र निरोगी नागरिक यसका मुख्य आधार हुन्,’ प्रधानमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय योग दिवसको यस अवसरमा योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न म सबैमा आह्वान गर्दछु ।’

 

सन् २०१५ बाट संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेपछि विश्वभर जुन २१ लाई योग दिवसका रूपमा मनाइँदै आएको छ ।

 

सन्देशमा ओलीले योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज रहेको भन्दै मानसिक अन्तर्यात्रामार्फत शारीरिक तथा मानसिक स्वास्थ्यको अध्ययन गर्ने योग शास्त्रको महत्व आधुनिक युगमा झनै मुखर भइरहेको समेत बताएका छन् ।