नेपाल प्रज्ञा-प्रतिष्ठानले ६३ औँ वार्षिकोत्सव मनाउँदै

आषाढ ०९,२०७७

-

असार ९,२०७७ काठमाडौं ।
नेपाल प्रज्ञा-प्रतिष्ठानको आज ६३ औँ वार्षिकोत्सव मनाउदै छ । आजकै दिन २०१४ साल असार ९ गते नेपाली साहित्य कला एकेडेमीका नामबाट नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापना भएको थियो ।
 
पछि ऐन जारी हुँदा नेपाल एकेडेमीको नाम पाएको यो प्रज्ञा–प्रतिष्ठान बिचमा रोयल नेपाल एकेडेमी र नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान हुँदै २०६२/०६३ को लोकतान्त्रिक गणतन्त्रात्मक आन्दोलनको सफलतापछि जनभावनाअनुरूप २०६४ मा जारी ऐनअनुसार हाल नेपाल प्रज्ञा-प्रतिष्ठानका रूपमा सञ्चालित छ ।
 
नेपालका भाषा, साहित्य, कला, दर्शन, इतिहास, संस्कृति, पुरातत्त्व, सङ्गीत, समाजशास्त्र, मानवशास्त्र, विज्ञान आदि विषय र तिनका विभिन्न विधा-उपविधाहरूको अध्ययन-अनुसन्धान, विमर्श र प्रकाशन गर्ने र नेपालको गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार समेत गर्ने उद्देश्यले स्थापित नेपाल प्रज्ञा-प्रतिष्ठान हाल भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्र जस्ता पाँचओटा विषय क्षेत्रमा विशिष्टीकृत भएको छ । 
 
हाल यी पाँचओटा विषय क्षेत्रका ११ ओटा विभागहरू क्रियाशील छन् । यी प्रत्येक विभागअन्तर्गत वार्षिक रूपमा अध्ययन–अनुसन्धान, गोष्ठी, कार्यशाला, अन्तरक्रिया एवम् प्रकाशनका कार्यहरू भइरहेका छन् ।