अमेरिकामा विदेशी कामदारलाई दिँदै आइएको भिसा यो वर्षको अन्त्यसम्मका लागि रोक

आषाढ १०,२०७७

-

असार १०,२०७७ काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी कामदारका लागि दिँदै आइएको भिसा यस वर्षको अन्त्यसम्मका लागि रोक लगाएका छन् ।
 
राष्ट्रपतिको पछिल्लो निर्णयले अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) का कारण जागिर गुमाएकाहरूलाई राहत पुग्ने ह्वाइटहाउसले जनाएको छ ।
 
जसका कारण संकटपूर्ण अर्थतन्त्रलाई केही टेवा पुग्ने ट्रम्पको भनाइ छ । तर, व्यापारिक समूहहरूले भने सरकारी निर्णयको विरोध गरेका छन् ।
 
राष्ट्रपति ट्रम्पले निलम्बन गरेको ‘एच-१ बी’ भिसाका कारण भारतका सूचना प्रविधिसम्बन्धी कम्पनी र कामदारहरू बढी प्रभावित हुने जनाइएको छ । अमेरिकाले प्रत्येक वर्ष ८५ हजार ‘एच–१ बी’ भिसा जारी गर्दै आएको छ । तीमध्ये करिब ७० प्रतिशत भारतीय छन् ।
 
ट्रम्पको उक्त निर्णयले उच्च सीप भएका प्रविधि क्षेत्रका कामदार, गैरकृषि क्षेत्रका मौसमी सहयोगी, आय र उच्च तहमा कार्यरत कर्मचारी काम गर्ने कार्यकारीहरू प्रभावित हुने जनाइएको छ ।
 
एच-१ बी भिसा अमेरिकी श्रम बजारमा आवश्यक दक्ष कामदारलाई दिइने रोजगारीमा आधारित भिसा हो ।
 
सन् १९५२ मा अमेरिकी कंग्रेसले पारित गरेको ‘आप्रवासन एवं राष्ट्रियता ऐन’ मार्फत् यो भिसाको परिकल्पना गरिएको थियो । यद्यपि सन् १९९० पछि नर्सहरुका लागि एचवान ए र अन्यका लागि एचवान बी भनी एच- वान भिसाको वर्गिकरण गरिएको थियो । उच्च शिक्षा हासिल गरेका र अमेरिकी श्रम बजारमा धेरै माग रहेका दक्ष कामदारलाई यो भिसा दिइन्छ ।