Trending :
 

आर्थिक प्रसङ्ग

३१ अंकले उकालो चढ्यो नेप्से

आषाढ २३,२०७४

-रासस

२३ असार,काठमाडौं-

साताको अन्तिम दिन नेप्सेमा ३१ दशमलव शून्य ५ अंकले बढेर १ हजार ५ सय ८२ दशमलव ११ अंकमा पुगेको छ ।

बिहीबार नेप्से र कारोबार रकम दुवै बढेको हो । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६ दशमलव ९० अंकले बढेर ३ सय ३६ दशमलव १० अंकमा पुगेको छ । बिहीबार १ सय ४८ कम्पनीका ३५ लाख कित्ता सेयर ७६ करोड रुपैयाँमा खरिद बिक्री भएका छन् । पछिल्लो समय कारोबार रकम र कारोबार सेयर कित्तामा पनि कमी आएको थियो ।

केही दिनअघि कारोबार रकम ३७ करोडमा सीमित हुँदै सेयर कित्ता पनि करिब ७ लाखमा झरेको थियो । धेरै सेयर किनबेच हुने कम्पनीमा नेरुड लघुवित्त विकास बैंक रहेको छ । सो लघुवित्तको ६ करोड २० लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी दोस्रो भएको छ । यसको ५ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । कारोबारमा आएका सबै उपसूचक बढेका छन् । बैंकिङ समूह २४ दशमलव ५३, होटल ५८ दशमलव ८७, विकास बैंक ३९ दशमलव ४५, जलविद्युत् २० दशमलव ७४, फाइनान्स ४ दशमलव ९२, बिमा ३ सय १९ दशमलव ९, उत्पादनमूलक ११ दशमलव २४ र अन्य ४ दशमलव ३४ अंकले बढेको छ ।