२०२३ मा हुने महिला विश्‍वकप फुटबल अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने

आषाढ १२,२०७७

-

असार १२, २०७७ काठमाडौं ।
 
सन २०२३ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिता अस्ट्रेलिया तथा न्युजिल्याण्डमा आयोजना गरिने भएको छ । स्विजरल्याण्डमा भएको मतदानमार्फत अस्ट्रेलिया र न्युजिल्यान्डलाई संयुक्त रुपमा प्रतियोगिता आयोजनाको अधिकार दिइएको हो ।
 
अस्ट्रेलिया तथा न्युजिल्याण्डले संयुक्त रुपमा उक्त प्रतियोगिता आयोजनाका लागि दाबी प्रस्तुत गरेका थिए । शुक्रबार बिहान भएको निर्वाचनमा दुई देशले अर्को दाबेदार देश कोलम्बियालाई ९ मतले पछाडि पार्दै प्रतियोगिता आयोजनाको अधिकार पाउन सफल भएका हुन् । 
 
३७ सदस्य रहेको फिफाले आयोजना गरेको मतदानमा झरेको ३५ मतमा अस्ट्रेलिया र न्युजिल्याण्डको पक्षमा २२ मत परेको सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै कोलम्बियाको पक्षमा १३ मत आएको थियो । 
 
सन २०२३ को जुलाई र अगस्टमा आयोजना गरिने प्रतियोगितामा विश्वभरिबाट ३२ टिमले सहभागिता जनाउँदैछन । यसअघि आयोजना गरिएको प्रतियोगितामा जम्मा २४ टिममात्र सहभागी भएकोमा यो संख्या बढाएर ३२ पुरयाइएको हो ।