प्रदेश १ मा सवारी दुर्घटनामा परी ४१ जनाको मृत्यु

आषाढ १४,२०७७

-

असार १४,२०७७ काठमाडौं ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन अवधिभर प्रदेश १ मा सवारी दुर्घटनामा परी ४१ जनाको मृत्यु भएको छ ।
 
गत चैत्र ११ गतेदेखि जेठ ३२ गतेसम्म सरकारले पूर्ण रुपमा लकडाउन गरेको थियो । उक्त समयमा सवारी दुर्घटनाका कारण ४१ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालय, इटहरीले जनाएको छ ।
 
लकडाउन अवधिमा ५ जना बालबालिका सहित २७ पुरुष र ९ जना महिलाको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मीराज अधिकारीले खबरहबलाई बताए ।
 
उनका अनुसार मोरङमा सबैभन्दा धेरै १४ जनाको मृत्यु भएको छ । त्यसैगरी झापा र सुनसरीमा ८-८, ताप्लेजुङमा ३, इलाम र उदयपुरमा दुई–दुई जना, भोजपुर, संखुवासभा, ओखलढुङ्गा र सोलुखुम्बुमा एक-एक जनाको मृत्यु भएको जनाइएको छ ।
 
लकडाउन अवधिमा धनकुटा, तेह्रथुम, पाँचथर र खोटाङमा भने सवारी दुर्घटनामा भने कसैको मृत्यु नभएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका डीएसपी अधिकारीले बताए ।
 
कोरोना भाइरस नियन्त्रणका लागि स्थानीय, प्रदेश र संघीय सरकारले कारोडौं रुपैंया खर्च गरेका छन् । तर, दैनिक जसो हुने सवारी दुर्घटना नियन्त्रणका लागि भने प्रभावकारी काम गर्न नसक्दा दुर्घटना बढेको सरोकारवाला बताउँछन् ।
 
यता जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगुले सवारी दुर्घटनामा मुख्य दोषी चालक आफैं भएको बताए । उनले विगतका भन्दा सवारी दुर्घटनामा कमी आउनुका साथै मृत्युदर घटे पनि दुई पाङ्ग्रे सवारी दुर्घटनाको संख्या भने बढेको बताए ।
 
मोटरसाइकल चालककै लापरबाहीका कारण कतिपय दुर्घटनाहरु हुने गरेको उनको तर्क छ ।
 
स्थानीय र प्रदेश सरकारले आ-आफ्नो क्षेत्रको पहिचान गरेर ट्राफिक नियमसम्बन्धी पाठ्यक्रम बनाएर विद्यालयमा अनिवार्य पठनपाठन शुरु गर्नुपर्ने उनले बताए ।