चीनले नेपालको सीमा अतिक्रमण गरेको झूटो प्रतिवेदन बनाउने कारखाना खोज्दैछौंः परराष्ट्रमन्त्री

आषाढ १५,२०७७

-

असार १५,२०७७ काठमाडौं ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनले नेपालको सीमा अतिक्रमण गरेको झूटो प्रतिवेदन बनाउने कारखानाको खोजी भइरहेको बताएका छन् । नेपाल चीन सीमामा कुनै समस्या नभएको पनि उनले बताए ।
 
हालै मात्र केही सञ्चार माध्यममा कृषि मन्त्रालयको नापी शाखाको प्रतिवेदनलाई हवाला दिएर चीनले सात जिल्लामा सीमा अतिक्रमण गरेको समाचार प्रकाशित भएको थियो । यसको कृषि मन्त्रालयले १० असारमै खण्डन गरेको थियो ।
 
राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले चीनले सात स्थानमा नेपाली सीमा अतिक्रमण गरेको भनेर आएको समाचारको खण्डन गरेका छन् ।
 
उनले गोरखाको रुई गाउँ चीनले अतिक्रमण गरेको खबरको पनि खण्डन गरे । उनका अनुसार दुई देशबीच औपचारिक सीमा निर्धारण हुनुअघि नै रुई र साना गाउँ लेकबेंसी जस्तो थियो । दुई देशले सीमा निर्धारण गरेपछि ११० घर कुरियालाई कता बस्ने भनेर रोज्न दिएको भन्दै उनले भने, ६० घर कुरियाले रुई र ४० घर कुरियाले यता बस्ने भनेर रोजे । त्यहाँ जबरजस्ती भएको होइन।’
 
उनका अनुसार वि. सं. २०१६ चैत ९ मा भएको सीमा सम्झौता र २०१८ असोज १९ मा भएको सीमा सन्धिअनुसार ९८ वटा बाउन्ड्री मार्कर (सीमा चिह्न) बनेको छ । निकै विकट भएका कारण सीमा चिह्न ३७ र ३८ कोर्न सकिएको छैन ।
 
नेपाल, भारत र चीनको त्रिदेशीयबिन्दु तोक्न बाँकी छ । नेपाल र भारतको सीमा विवाद समाधान भएपछि त्रिदेशीय बिन्दु निर्धारण गर्ने परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।
 
दुई देशबीच भएको सहमतिअनुसार नेपाल चीन सीमामा जीपीएस जडान गर्न बाँकी छ । मन्त्री ज्ञवालीले भने, ‘यसबाहेक नेपाल चीन सीमामा अरू कुनै समस्या छैन ।’
 
तर चीनले नेपाली सीमा अतिक्रमण गरेको समाचार कसरी आए ? फेक प्रतिवेदन कहाँ तयार भयो ? भनेर सरकारले खोजी गरिरहेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।