नेपाललाई सधै एमसीसी अनुदान उपलब्ध नहुने अमेरिकी दूतावासको चेतावनी

आषाढ १५,२०७७

-

असार १५,२०७७ काठमाडौं ।
संयुक्त राज्य अमेरिकाले अमेरिकी सहयोग परियोजना (एमसीसी) को अनुदान स्वीकार गर्ने वा नगर्ने नेपालको रोजाइको विषय हो भन्दै यो कोषको रकम नेपाललाई सधैं उपलब्ध नहुने चेतावनी दिएको छ ।
 
एमसीसी नेपालको संसदबाट अहिलेसम्म अनुमोदन नभएको बारेमा अमेरिका जानकार रहेको भन्दै काठमाडौंस्थित अमेरिकी दूतावासले ५० करोड डलर अनुदान पाउने पहिलो कदम संसदबाट अनुमोदन नै भएको दोहोर्‍याएको छ ।
 
अनुदानमा ढिलाइ हुँदा २ करोड ३० लाख नेपालीलाई थप रोजगारी र आर्थिक वृद्धिको फाइदा दिलाउन ढलाइ गर्नु भएको पनि अमेरिकाले बताएको छ । ‘यो अनुदान स्वीकार गर्नु नेपालको रोजाइको विषय हो तर यस अन्तर्गतको कोषको उपलब्धता सधैँ खुला रहँदैन । यो कार्यक्रमको व्यवहारिकताको निरन्तरता सुनिश्चित गर्न नेपालमा ठोस, निकटवर्ती कदम जरुरी छन्’ दूतावासले विज्ञप्तिमा भनेको छ ।
 
नेपालको प्रतिनिधिसभामा दर्ता भएको एमसीसी सम्झौता असार १५ गतेसम्म पारित गर्नुपर्ने थियो । तर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रैको विवादका कारण यो संसदमा छलफलमा आउन सकेको छैन । नेकपाका कतिपय नेताहरु यो सम्झौता सं‌सदबाट पारित गर्न नहुने अडानमा छन् ।
 
अमेरिकाले एमसीसी सम्झौता अहिलेको चरणसम्म आइपुग्न नेपालका प्रमुख राजनीतिक दल सहभागी सरकार र एमसीसीले सन् २०१२ देखि लगातार मिलेर काम गरेको पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।
 
एमसीसी अनुदानले लगानी तथा आर्थिक विकासलाई उत्प्रेरित गरी दसौँ लाख मानिसलाई गरिबीबाट माथि उठाउन सहयोग गरेको भन्दै अमेरिकाले एमसीसीले साझेदार देशको सार्वभौमिकतामा पनि टेवा पुर्‍याएको दावी गरेको छ ।