चीनमा सुँगुरबाट मानिसमा सर्ने फेला पर्‍यो खतरनाक भाइरस

आषाढ १६,२०७७

-

असार १६,२०७७ काठमाडौं ।
विश्वव्यापी महामारी बनेर फैलिने सक्ने क्षमता भएको एउटा नयाँ फ्लू भाइरस चीनमा फेला परेको वैज्ञानिकहरूले बताएका छन्।
 
उनीहरूका अनुसार मानिसहरूलाई सङ्क्रमण गर्न सक्ने उक्त भाइरस भर्खरै विकसित भएको र सुँगुरमा भेटिएको हो।
 
उक्त भाइरसको संरचनामा परिवर्तन हुनसक्ने भएकाले मानिसबाट मानिसमा सर्ने र विश्वभरि फैलिने सम्भावनाले अनुसन्धानकर्ताहरू चिन्तित छन्।
 
तत्कालका लागि समस्या नभए पनि उक्त भाइरसमा मानिसलाई सङ्क्रमण गर्न आवश्यक सबै गुण भएकाले चनाखो हुनुपर्छ।
 
उक्त भाइरस नयाँ भएकाले मानिसहरूमा त्यसलाई प्रतिरोध गर्न न्यून वा शून्य क्षमता छ।
 
प्रोसीडिङ्स अफ द न्याश्नल अक्याडमी अफ साईअन्सेज नामक जर्नलमा वैज्ञानिकहरूले सुँगुरमा उक्त भाइरस नियन्त्रण गर्न तथा सुँगुरपालन उद्योगमा काम गर्ने मानिसहरूलाई निगरानी गर्न आवश्यक उपायहरू राम्ररी कार्यान्वयन हुनुपर्ने उल्लेख गरेका छन् ।