अमेरिकामा दैनिक एक लाख कोरोना संक्रमित थपिन सक्ने चेतावनी

आषाढ १७,२०७७

-

असार १७,२०७७ काठमाडौं ।
अमेरिकामा हरेक दिन एक लाख जनामा कोरोना संक्रमण हुन सक्ने कोरोना टास्कफोर्सका सदस्य डा। एन्थोनी फाउचीले बताएका छन् । संक्रामक रोग विशेषज्ञसमेत रहेका फाउचीले अमेरिकामा आगामी दिन अझै संकटपूर्ण हुने चेतावनीसमेत दिएका छन् ।
 
हाल अमेरिकामा हरेक दिन करिब ४० हजारमा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ । फाउचीले चेतावनी दिँदै भने, ‘यदि सावधानी अपनाइएन भने अमेरिकामा हरेक दिन एक लाखभन्दा बढी संक्रमण पुष्टि हुनेमा कुनै शंका छैन ।’
 
यदि मानिसहरुले सामाजिक दुरीलाई पालना नगरे र मास्क नलगाए अमेरिकाको अवस्था झनै खराब हुने फाउचीको भनाइ छ ।
 
कोरोनाबाट अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित देश हो । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा २६ लाख २९ हजार ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाकै कारण अमेरिकामा ज्यान गुमाउनेहरुको संख्या १ लाख २७ हजार ३ सय २२ छ ।
 
विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४३ लाखभन्दा बढी छ भने कोरोना संक्रमणबाट ५ लाख ९ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।