वेष्ट इन्डिज क्रिकेटका लिजेन्ड सर एभरटन विक्सको निधन

आषाढ १८,२०७७

-

असार १८, २०७७ काठमाडौं ।
क्यारेबियन टोली वेष्ट इन्डिज क्रिकेटका लिजेन्ड सर एभरटन विक्सको ९५ वर्षको उमेरमा निधन भएको छ । विक्सको बिहीबार बिहान निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
 
विक्सले ४८ टेस्टमा ५८.६१ को औसतमा ४ हजार ४ सय ५५ रन बनााएका थिए । उनी ५ टेस्टमा लगातार शतक बनाउने ब्याट्सम्यान समेत हुन् । इन्डिजका ‘थ्री डब्लुएस’ मध्येका एक हुन् । इन्डिजका थ्री डब्लुएसमा विक्ससँगै क्लेडे वालकोट, र सर फ्राङ्क वारेल पर्छन् ।
 
‘हामीले हाम्रा आइकन गुमाएको खबर सुन्दा मन दुखेको छ । लिजेन्ड, हाम्रो हिरो,’ क्रिकेट वेष्ट इन्डिजले भनेको छ, ‘उनको परिवार, आफन्त र विश्व भरका उनका समर्थकलाई हार्दिक समवेदना ।’
 
टेस्ट इतिहासमा विक्स २० इनिङ टेस्ट खेल्ने खेलाडीमध्ये १० औं सबैभन्दा बढी एभरेज रन बनाउनेमा पर्छन् ।  विक्स, वाल्कोट र फ्राङ्क वेष्ट इन्डिजले सन् १९५० मा इङ्ग्ल्यान्ड टेस्ट जित्दा महत्वपूर्ण खेलाडीका रुपमा टीममा थिए ।
 
अहिलेसम्म सर्भाइभ राख्न सफल पुरानो पुस्ताका टेस्ट क्रिकेटरमध्ये विक्स तेस्रो खेलाडी हुन् । उनीभन्दा पनि सिनियर खेलाडीहरु दक्षिण अफ्रिकाका जोन वाट्किङ्स र इङ्ग्ल्यान्डका डोन स्मिथ ९७ वर्षको उमेरमा दैनिकी चलाइ रहेका छन् ।
 
खेलाडी, प्रशिक्षक, क्रिकेट कमेन्टेटर गरि सबै भूमिकामा रहेर उनले विश्व क्रिकेटलाई ठूलो योगदान दिएका थिए ।
 
बार्बाडोसका विक्सले सन् १९४८ मा टेस्ट डेब्यु गरेका थिए भने १९५८ मा सन्यास लिएका थिए । विक्स यसअघि २०१९ मा हृदयघातका कारण अस्पताल भर्ना भएका थिए ।
 
वेष्ट इन्डिज क्रिकेटका अध्यक्षले विक्स इन्डिजका लागि पायोनियर रहेको बताएका छन् ।