वैदेशिक रोजगारीमा फेरि सोही कम्पनीमा जानेहरुलाई पुनः श्रम स्वीकृति दिन सुरु

आषाढ १८,२०७७

-

असार १८, २०७७ काठमाडौं ।
वैदेशिक रोजगारीमा गई अवधि पूरा गरी फर्किएका तर फेरि पनि सोही कम्पनीमा जानेहरुका लागि पुनः श्रम स्वकिृति खुला गरिएको छ । कोरोना माहामारीका कारण ३ महिनाभन्दा बढी समयदेखि बन्द रहेको श्रम स्वीकृति बिहीबारबाट दिन सुरु गरिएको हो ।
 
पहिलो चरणमा पुनः श्रम स्वीकृति मात्रै दिन सुरु गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसद दाहालले बताए । उनले भने, ‘सिसिएमसीको निर्णयलाई टेकेर मन्त्रालयले तत्कालका लागि पुनः श्रम स्वीकृति दिनु भनेर निर्देशन दिएको छ ।
 
हामीले मन्त्रालयले भने अनुसार तत्कालका लागि पुनः श्रम स्वीकृति दिन सुरु गरेका छौँ । अब बिस्तारै नयाँ पनि सुरु होला । तर नयाँ कहिले खुल्छ भनेर अहिले नै भन्न सक्दिन ।’
 
कोरोना माहामारीका बीच पनि कतिपय देशमा लकडाउन नभएको र उद्योगहरु चलिरहेको अवस्थामा पहिले गएर फर्केकाहरुलाई पुनः श्रम स्वीकृति दिन थालिएको हो । कतिपय कम्पनीबाट कामदारको माग भइ आएको र पहिले नै कागजात तयार भइसकेकाहरुका लागि श्रम स्वीकृति दिन थालिएको विभागले जनाएको छ । काठमाडौंस्थित श्रम कार्यालयबाट बिहीबारदेखि नै पुनः श्रम स्वीकृति दिन थालिएको महानिर्देशक दाहालले बताए ।
 
वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिने सम्बन्धमा सेवाग्राहीले सुरक्षा सतर्कता भने अपनाउनु पर्ने बताएको छ ।
 
काठमाडौं कार्यालयले स्वास्थ्य प्रोटोकलको मापदण्ड अनुसार सेवाग्राहीको लागि लाईन बस्न २-२ मिटरको दुरी कायम हुनेगरी चिन्ह लगाइएको छ । साथै कार्यालय हातामा प्रवेश गर्दा मास्क अनिवार्यरुपमा लगाउनुपर्ने बताएको छ ।
 
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ गते बसेको वैठकले श्रम स्वीकृति खुला गर्न श्रम मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको थियो । यद्यपि श्रम मन्त्रालयले तत्कालका लागि पुनः श्रम स्वीकृति मात्रै दिन लागेको हो ।
 
उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको तत्कलीन कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गएको फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगन गर्न निर्देशन दिएको थियो । समितिको निर्देशनपछि वैदेशिक रोजगार विभागले फागुन ३० गतेबाट वैदेशिक रोजगारीमा जाने, घर विदामा नेपाल आएका तथा नयाँ श्रम स्वीकृति लिनका लागि बन्द गरेको थियो ।