अन्तराष्ट्रिय प्रसङ्ग
आषाढ २५,२०७४
-एजेन्सी
२५,असार ह्यामबर्ग- जर्मनीको ह्यामबर्गका आयोजित जी ट्वान्टी सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पककी छोरी इभान्का ट्रम्पले असहज कार्य गरेकी छिन् । उनी विश्वका शक्तिशाली नेताको शनिबार भएको सम्मेलनमा बाबुले आसन गरेको सिटमा गएर बसेकी थिइन् । जी ट्वान्टीको बैठक चलिरहेका बेला अमेरिकी राष्ट्रपति ट्रम्प इन्डोनेसियाका नेतालाई भेट्न गएपछि उनको रिक्त रहेको सिटमा आएर छोरी इभान्का बसेकी थिइन् । इभान्का अमेरिकी राष्ट्रपतिको छोरीका साथै सल्लाहकार पनि भएकाले उक्त पदमा बसेको बताइएपनि जी ट्वान्टी सम्मेलनको बैठकमा मुख्य नेताको अनुपस्थितिमा सल्लाहकारले नभई राज्यको उच्च ओहदाको अधिकारीले परिपूर्ण गर्ने प्रावधान रहेको छ । उक्त प्रावधानलाई लत्याउँदै इभान्का ट्रम्प बाबुको सिटमा गएर बसेपछि विश्वभर आलोचित बनेकी छिन् । इन्डोनेसियाका नेतालाई भेटिसकेपछि अमेरिकी राष्ट्रपति ट्रम्प बेलायती प्रधानमन्त्री थेरेसा मे र चिनियाँ राष्ट्रपति सी जिनपिङको बीचमा रहेको आफ्नो सिटमा बस्न आएका थिए । बाबु बाहिरिएपछि बाबुको सिटमा आसिन भएपनि इभान्का ट्रम्पले त्यसबखत बैठकमा चलेको अफ्रिकन आप्रवासन तथा स्वास्थ्यसम्बन्धी सत्रमा कुनै ठूलो योगदान भने पु¥याउन सकिनन् । बाबुको सिटमा बसेको उनको फोटो जी ट्वान्टी सम्मेलनमा सहभागी रुसी प्रतिनिधिले ट्विट गरेपछि उनको विश्वभर सामाजिक सञ्जालमा आलोचना भएको छ । सामाजिक सञ्जालका केही प्रयोगकर्ताले इभान्का ट्रम्प जननिर्वाचित नभएको भन्दै आलोचना गरेका छन् भने केहीले उनलाई फेसन ब्रान्डको मालिकको रुपमा त्यति ठूलो कूटनीतिक बैठकमा बस्ने हैसियत कसरी आयो भनेर प्रश्न गरेका छन् । दुई साता अघि एउटा अन्तर्वार्तामा आफूलाई राजनीतिबाट टाढा राख्न खोजेको भन्ने इभान्काको भनाईको विषयसँग जोड्दै अन्य केही सामाजिक सञ्जाल प्रयोगकर्ताले भने विश्वका शक्तिशाली नेता सहभागी बैठकमा उनको उपस्थितिलाई ब्यंग गरेका छन् । जी ट्वान्टीको सम्मेलनका बेला इभान्काले शनिबार महिला उद्यम र अर्थतन्त्रका बारेमा बहस चलिरहेका बेला बैठकमा सहभागी भएकी थिइन् । उक्त बैठकमा उनीसहित जर्मन चान्सलर एन्जिला मर्केल र अन्तर्राष्ट्रिय मुद्रा कोषकी निर्देशक क्रिस्टिन लार्गाद पनि सहभागी रहेका थिए । यसअघि तीनै जना महिला जर्मनीको बर्लिनमा अप्रिलमा भएको जी ट्वान्टी महिला बैठकमा सहभागी भएका थिए । उक्त कार्यक्रममा इभान्काले आफ्नो बाबुलाई महिला विरोधी भनेर लागेको आरोपको प्रतिरक्षा गर्दै उनले परिवारलाई समर्थन गरेको बताएकी थिइन् । शनिबार बिहान भएको उक्त बैठकमा राष्ट्रपति डोनाल्ड ट्रम्पले इभान्काको बाबु आफू हुनु नै एकमात्रै खराब चिज भएको बताएका थिए । ‘म मेरी छोरी इभान्का ट्रम्पसँग अत्यन्तै खुशी छु । उनी जन्मिएदेखि नै मसँगै छिन्,’ उनले महिलाको विश्वव्यापी व्यापारमा संलग्नता बारेको बैठकमा बताएका थिए । ‘यदि उनी मेरी छोरी थिइनन् भने उनलाई अझै सहज हुन्थ्यो होला । म उनको बाबु हुनु नै एक मात्रै खराब चिज हुनसक्छ,’ उनले बताए । इभान्काका दाजुभाइ डोनाल्ड जुनियर र एरीकले पारिवारिक व्यापार हेरेपनि इभान्काले भने आफ्नै फेसन ब्रान्डलाई अगाडी बढाएकी थिइन् । नातावादको आरोप लगेपछि उनले उक्त व्यापारलाई ह्वाइट हाउसको सल्लाहकारको पदमा आउनु अघि ट्रष्टमा लगेकी थिइन् । किशोरी अवस्थामा छोटो समय मोडलिङसमेत गरेकी इभान्कालाई बाबुकै कम्पनीमा जागिर दिइएको थियो । त्यहाँ काम गर्दा उनले ट्रम्प होटल ब्रान्डलाई फैलाउँदै दाजुभाइसँगै कम्पनीको कार्यकारी उप प्रमुख बनेकी थिइन् । उनले जारेद कुसनरसँग विवाह गरेकी छिन् । जारेद कुसनरपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यालय ह्वाइट हाउसमा प्रभावशाली भूमिकामा रहेका छन् ।
प्रमुख समाचार
सम्वन्धित समाचार