ढलको पानीबाट कोरोना भाइरस सर्दैन तर सचेत भने हुनुपर्छः डा. जागेश्वर गौतम

आषाढ २१,२०७७

-

असार २१,२०७७ काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलको पानीमा भएको कोरोना भाइरसले मानिसमा संक्रमण नसार्ने दावी गरेको छ ।
 
स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेट मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ढलको पानीमा भेटिएको कोरोना भाइरस मानिसमा नसर्ने दावी गरेका हुन् ।
 
सेन्टर फर मलिकुलर डायनामिक्सले गरेको इन्भारोमेन्टल सर्भिलेन्समा काठमाडौं उपत्यकाका विभिन्न स्थानको ढल परीक्षण गर्दा कोरोना भाइरस भएको पत्ता लगाएको थियो । काठमाडौंमा ढलको पानीमा कोरोना संक्रमण पुष्टि भएपछि सञ्चारमाध्यमहरुले उक्त विषयमा समाचार प्रकाशित गरेका थिए ।
 
‘विश्वमा अयन्त्र भएका अध्ययनले व्यक्ति कोभिड १९ को संक्रमित रहेकै अवस्थामा वा निको भइसकेको अवस्थामा पनि ढलमा कोभिड १९ भाइरल आरएनए फ्यामेन्टस् अर्थात भाइरसका टुक्राटाक्री भेटिएको देखिन्छ, डा गौतमले भने, ‘जुन सामान्यतया रोग सार्ने खालको हुँदैन, यस्तै अध्ययनहरुका अनुसार कोरोना भाइरस सामान्य तापक्रमको पानी जसमा क्लोरिन जस्तो जिवाणुनाशक औषधि राखिएको, फोहोर पानी अर्थात अस्पतालबाट निस्कने ढलको पानीमा पनि दुई दिन सम्म बाच्ने देखिएको छ ।