रोजगारी गुमेपछि युएईको एउटै कम्पनीमा काम गर्ने २५ सय नेपाली समस्यामा

आषाढ २३,२०७७

-

असार २३,२०७७ काठमाडौं । 
युएईमा एउटै कम्पनीमा कार्यरत २५ सय भन्दा बढी नेपाली श्रमिकले एकैपटक रोजगारी गुमाएका छन् ।
 
कोरोना महामारीका कारण उत्पन्न संकटका कारण युएईको ट्रान्सगार्ड ग्रुप नामको आउटसोर्सिङ कम्पनी मार्फत काम गर्दै आएका २५ सय नेपालीले रोजगारी गुमाएका हुन् । यो कम्पनीमार्फत करिब १२ हजार नेपालीले युएईका विभिन्न कम्पनीमा काम गर्दै आएका छन् ।
 
तर पछिल्लो पटक कम्पनीले एकैपटक ठूलो संख्यामा नेपालीसँग भएको श्रम करार अन्त्य गरेको हो ।
 
करार अवधि बाँकी छँदै रोजगारी गुमाउनुपरेपछि त्यहाँ कार्यरत नेपाली समस्यामा परेका छन् । उनीहरुले आफ्नो समस्याबारे युएईस्थित नेपाली दूतावासमा जानकारी गराएका छन् ।
 
एकैपटक ठूलो संख्यामा नेपालीले रोजगारी गुमाएपछि दूतावासले यसको जानकारी परराष्ट्र मन्त्रालयमा गराएको छ । यूएईका विभिन्न क्याम्पमा रहेका ती नेपालीको उद्धारको लागि पहल सुरु गरिएको दूतावासका अधिकारीले बताएका छन्।
 
उनका अनुसार कम्पनीले आफ्नै खर्चमा श्रमिकलाई नेपाल पठाउने प्रस्ताव गरेको छ । त्यसका लागि नेपाल सरकारले स्वीकृति दिनुपर्नेछ ।
 
आफूहरुलाई छिटो नेपाल फर्काउनुपर्ने रोजगारी गुमाएका नेपाली जयराम नेपालले बताए । कम्पनीले खान दिए पनि लामो समय विदेशमा रोकिँदा समस्या थपिँदै जाने दूतावासका अधिकारीको भनाइ छ ।