अन्तराष्ट्रिय प्रसङ्ग
आषाढ २६,२०७४
-एजेन्सी
२६ असार,दोहा-
साउदी अरबसहितका चार खाडी मुलुकले कतारसँगको कूटनीतिक सम्बन्ध तोड्दै नाकाबन्दी लगाएपछि भएको नोक्सानको कतारले अध्ययन समिति बनाएर क्षतिपूर्ति माग गर्ने भएको छ ।
कतारका सरकारी अभियोजक अली अलमारीले सञ्चारकर्मीहरूसँगको कुराकानीमा भने, ‘समितिले कतारमा रहेका निजी कम्पनी, सार्वजनिक संघ÷संस्था र व्यक्तिबाट खाडी मुलुकको पछिल्लो निर्णयका कारण भएको व्यापारिक घाटाका विवरण जम्मा गर्नेछ र क्षतिपूर्ति दाबी गर्नेछ ।’ उनले केही विवरण पेस गर्दै क्षतिपूर्तिका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय संरचनालाई प्रयोग गरी क्षतिपूर्ति माग गर्ने बताए ।
नवगठित समितिमा कतारका न्याय तथा विदेशमन्त्री पनि सदस्य रहेका छन् । साउदी अरब, यूएई, इजिप्ट र बहराइनद्वारा कतारले आतंकवादलाई सघाएको आरोप लगाउँदै कतारसँगको कूटनीतिक सम्बन्ध तथा हवाई, जमिन तथा जलमार्ग कतारसँग विच्छेद गरेको घोषणा गरेका थिए । कतारले उनीहरूले भनेझैं आफ्नो मुलुकले कुनै आतंकवादी समूहलाई नसघाएको र सो समूहले कतारमाथि राखेका सर्त सार्वभौम मुलुकमाथि गरिएको अपमानजनक कार्य भएको बताउँदै आएको छ
गत जुनको सुरुमा नै खाडी राष्ट्रले कतारमाथि लगाएको नाकाबन्दी अझै जारी छ । गत महिनाको अन्तिममा खाडी मुलुकले नाकाबन्दी खोल्न अल जजिरा टेलिभिजन च्यानल बन्द गर्नुपर्ने, इरानसँगको कूटनीतिक सम्बन्ध तोड्नुपर्नेलगायतका १३ सर्त तेस्र्याएका थिए । कतारले भने खाडी राष्ट्रमा यस्ता माग पूरा गर्न अस्वीकार गरेको छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार