अमेरिकामा कोरोना मृत्युदर घट्यो संक्रमण भने बढ्यो, ढुक्क नहुन चेतावनी

आषाढ २४,२०७७

-

असार २४, २०७७ काठमाडौं ।
अमेरिकामा कोरोनासंक्रमितको संख्या ३० लाख नाघेको छ । तर साथसाथै मृत्यु हुनेहरुको संख्या पनि घट्दै गएको छ । यो अमेरिकाको लागि एक किसिमको राहत जस्तै भएको छ ।
 
तर अमेरिकाका शीर्षस्थ संक्रामिक रोग विशेषज्ञ डा एन्थोनी फाउचीले ‘मृत्युदर घट्दै गयो भन्दैमा ढुक्क हुन नमिल्ने’ चेतावनी दिएका छन् ।
 
अमेरिकामा कोरोनासंक्रमितको संख्या ३० लाख नाघेको तथा जीवन सहज हुने आशा गरिएका अमेरिकाका केही राज्यहरुमा उल्टै प्रतिबन्धहरु कडा बनाउँदै लैजानु परेको र मास्कलाई अनिवार्य बनाउनुपरेको स्थितिबीच डा. फाउचीको सो चेतावनी आएको हो ।
 
‘हाम्रा खतरनाक व्यवहारले आफूलाई संक्रमित हुन दिनु भनेको हामी आफैं पनि महामारीको संवाहक हुनु हो,’ उनले भनेका छन्,  अन्य थुप्रै कुराहरु छन्, जुन यस भाइरसका बारेमा खतरनाक र खराब हुन् । गलत आत्मविश्वासमा परेर ढुक्क नहुनुहोस् ।’
 
ट्रम्प प्रशासनका कोरोनाभाइरस रेस्पोन्स कोअर्डिनेटर डा. डेबोरा एल. व्रिक्सले युवाहरुमाझ कोरोनाभाइरसको संक्रमण तीब्र दरमा फैलिएको पछिल्लो घटनाले पदाधिकारीहरु आश्चर्यचकित बनेको बताएका छन् ।