Trending :
 

अमेरिकाले हङकङवासीलाई दिँदै आएको विशेष सुबिधा खारेज

आषाढ ३१,२०७७

-

असार ३१,२०७७ काठमाडौं ।
हङकङमा चीनले हस्तक्षेप बढाउँदै स्वतन्त्रता खुम्च्याएपछि अमेरिकाले हङकङवासीलाई दिँदै आएको विशेष सुबिधा खारेज गरेको छ ।
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले हङकङलाई दिईँदै आएको विशेष दर्जा अन्त्य गर्ने सम्बन्धी प्रस्तावमा हस्ताक्षर नै गर्नुभएको छ ।
 
चीनले हङकङको स्वतन्त्रता सीमित पार्न नयाँ सुरक्षा कानून ल्याएपछि अमेरिकाले हङकङसँगको विशेष व्यापारिकसहितको सम्बन्ध तोड्न लागेको हो ।
 
ह्वाइट हाउसमा पत्रकारहरुसँग ट्रम्पले हङकङसँग पनि अब चीनसँग जस्तै व्यवहार हुने जानकारी दिँदै विशेष सम्बन्धको दर्ता अन्त्य गरिएको बताउनुभयो ।
 
हङकङको अधिकार सीमित गर्नुका साथै चीनमाथि थप प्रतिबन्ध लगाउने सम्बन्धी विधेयकमा पनि हस्ताक्षर गरेको ट्रम्पले जानकारी दिनुभयो ।
 
‘अब कुनै विशेषाधिकार हुने छैन, कुनै विशेष आर्थिक व्यवहार रहने छैन र संवेदनशील प्रविधिको निर्यात पनि हुने छैन,’ उहाँले भन्नुभयो ।
 
ब्रिटेनबाट स्वतन्त्रताका शर्तसहित हङकङ चीनलाई हस्तान्तरण गरिएको भएपनि पछिल्ला वर्षहरुमा चीनले हङकङको स्वतन्त्रता तथा स्वायत्तता कुण्ठित गर्दै गएपछि पश्चिमा देशहरु रुष्ट बनेका छन् ।एजेन्सी