Trending :
 

अन्तराष्ट्रिय खेलकुद गतिविधि

नाडाल विम्बल्डनबाट बाहिर

आषाढ २८,२०७४

-एएफपी

२८ असार,लण्डन-

विम्बल्डनसँग राफेल नाडालको खराब सम्बन्धले निरन्तरता पाउने क्रममा उनी सोमबार चौथो चरणअन्तर्गत लक्जेम्बर्गका जाइल्स मुलरविरुद्ध पाँच सेटसम्म चलेको खेलमा पराजित भएका छन्।

साबिक विजेता एण्डी मरे र सात पटकका विजेता रोजर फेडेरर सोझो सेटमा विजय हासिल गर्दै अन्तिम आठमा पुगेको केही बेरपछि नाडाल ६–३, ६–४, ३–६, ४–६, १५–१३ को नतिजामा स्तब्ध भएका थिए। विम्बल्डनमा पछिल्लो पाँच सहभागितामा नाडाल क्वार्टरफाइनलभन्दा अगाडि नै बाहिरिएको यो पाँचौं पटक हो । फ्रेन्च ओपनमा १०औं पटक उपाधि जितेको केही हप्तापछि नाडालले विम्बल्डनमा निराशा भोगेका हुन् । ‘निकै असहज प्रतिद्वन्द्वीविरुद्ध मैले राम्रो खेल्न सकिनँ,’ २००८ र २०१० का च्याम्पियन नाडालले भने, ‘उनले राम्रो खेले । उनी जितको हकदार थिए । खास गरी उनले पाँचौं सेटमा निकै उत्कृष्ट पारामा खेले । मैले पनि अन्तिम बलसम्म संघर्ष कायम राखेको थिएँ ।’

 

नाडालले १६ ब्रेक प्वाइन्टमध्ये दुईको मात्र उपयोग गर्न सके भने १६औं वरीयताप्राप्त मुलरले ३० एस प्रहार गरेका थिए । विम्बल्डनमा पहिलो पटक क्वार्टरफाइनल पुगेका मुलरले बुधबार अन्तिम आठको खेलमा युएस ओपनका पूर्व विजेता मारिन सिलिकसँग प्रतिस्पर्धा गर्नेछन् । ‘नाडालजस्ता प्रतिद्वन्द्वीविरुद्धको खेलमा सफलता हासिल गर्नका लागि आफ्नो तर्फबाट शतप्रतिशत दिन सक्नुपर्छ भन्ने मलाई थाहा थियो । त्यही अनुसार खेलेर जित हासिल गर्दा अहिले बेग्लै सन्तुष्टि अनुभव भइरहेको छ,’ १२ वर्षअघि विम्बल्डनमै नाडालमाथि पछिल्लो पटक विजय हासिल गरेका मुलरले भने । नाडाल स्तब्ध हुनुअघि फेडेररले ग्रिजोर दिमित्रोभमाथि ६–४, ६–२, ६–४को सोझो सेटमा विजय हासिल गर्दै ५०औं पटक ग्रान्ड स्लाम प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरे । विम्बल्डनमा भने उनी क्वार्टरफाइनल पुगेको यो १५औं पटक हो । स्विस स्टार फेडेररले क्वार्टरफाइनलमा २०१६ का उपविजेता मिलोस राओनिकसँग प्रतिस्पर्धा गर्नेछन् । छैटौं वरीयताका राओनिकले अन्तिम १६ मा १०औं वरीयताप्राप्त जर्मनीका एलेक्जेन्डर जिभेरेभलाई ४–६, ७–५, ४–६, ७–५, ६–१ को सेटमा पराजित गरेका थिए । गत वर्ष विम्बल्डनको सेमिफाइनलमा फेडेररसँग भेट हुँदा राओनिकले विजय हासिल गरेका थिए । ३५ वर्षे फेडेरर विम्बल्डनको इतिहासमा क्वार्टरफाइनल पुग्ने दोस्रो बूढा खेलाडी हुन् । यसअघि १०७१मा केन रसवाल ३९ वर्षको उमेरमा विम्बल्डनको क्वार्टरफाइनल पुगेका थिए । ‘फेरि विम्बल्डनको क्वार्टरफाइनल पुग्दा म अत्यन्तै उत्साहित छु,’ दिमित्रोभविरुद्धका पछिल्ला ६ भिडन्तमा सबै खेल जितेका फेडेररले भने । तीन पटकका च्याम्पियन नोभाक जोकोभिचले चोटको चासोलाई पन्छाउँदै नवौं पटक विम्बल्डनको क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्ने क्रममा फ्रान्सका एड्रियान मानारिनोलाई सोझो सेटमा हराए । दोस्रो वरीयताका जोकोभिचले दोस्रो सेटमा दायाँ पाखुराको चोटको उपचार गराउनुपरेको थियो । तर उनले ६–२, ७–६(७–५), ६–४ को जित हासिल गरे ।

 

क्वार्टरफाइनलमा स्थान पक्का गरे पनि सर्बियाका ३० वर्षे स्टारको पाखुराको चोटले उनलाई प्रतियोगिताका आगामी खेलमा पनि सताउन सक्नेछ । अन्तिम १६ को खेलमा जित हासिल गरेपछि जोकोभिचले सेन्टर कोर्टको स्तरमाथि गुनासो गरे । ‘सर्विस लाइनमा खाल्डो भएको मैले अम्पायरलाई देखाएको थिएँ । तर उनले त्यसलाई चासो दिएनन् । यसपालि कोर्टको अवस्था राम्रो छैन, सबै खेलाडीले यही अनुभव गरिरहेका छन्,’ जोकोभिचले भने, ‘पक्कै पनि यहाँ विश्वकै उत्कृष्ट मैदान प्राविधिकहरू छन् भन्नेमा मलाई शंका छैन । तर घाँसे मैदान हेरचाह गर्नका लागि गाह्रो हुन्छ । मैले योभन्दा धेरै राम्रा कोर्टमा खेलेको छु ।’ क्वार्टरफाइनलमा जोकोभिचले चेक गणतन्त्रका टोमस बर्डिचसँग खेल्नेछन् । ग्त वर्ष जोकोभिचलाई पराजित गरेका २४औं वरीयताप्राप्त अमेरिकी खेलाडी साम क्वेरीले दक्षिण अफ्रिकाका केभिन एन्डरसनमाथि ५–७, ७–६(७/५), ६–३, ६–७(१३/११), ६–३ को सेटमा हराउँदै लगातार दोस्रो वर्ष विम्बल्डनको क्वार्टरफाइनलमा स्थान पक्का गरे । सातौं वरीयताका सिलिकले स्पेनका रोबर्टो बाउटिस्टा एगुटलाई ६–२, ६–२, ६–२ को सोझो सेटमा निराश पार्दै अन्तिम आठको टिकट काटे । क्वार्टरफाइनलमा मुलरको सामना गर्दा उनी पहिलो पटक अल इङ्ल्यान्ड क्लबमा सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछन् ।

 

त्यस्तै अन्तिम १६ को अर्को खेलमा ११औं वरीयताका चेक खेलाडी टोमस बर्डिचले आठौं वरीयताका अस्ट्रियाली डोमिनिक थिइमलाई ६–३, ६–७(१÷७), ६–३, ३–६, ६–३ को नतिजामा हराए । यसै गरी महिलातर्फ अमेरिकी स्टार भेनस विलयम्सले फ्रेन्च ओपन विजेता जेलेना ओस्टापेन्कोलाई सोझो सेटमा पराजित गर्दै अन्तिम ४ मा स्थान बनाएकी छिन् । दशौं वरीयताप्राप्त ३७ वर्षिया भेनसले लाट्भियाका ओस्टापेन्कोलाई ६–३, ७–५ को सेटमा हराएकी हुन् । भेनसले अब फाइनल पुग्नका लागि दोस्रो वरीयताकी सिमोना हेलेप र छैटौं वरीयताप्राप्त बेलायतकी जोहान्ना कोन्टाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् । हेलेपले शनिबार ढिला गरी भएको खेलमा हेलेपले भिक्टोरिया अजरेन्कालाई ७–६(७/३), ६–२ को सेटमा हराउँदै अन्तिम ८ मा प्रवेश गरेकी थिइन् । आइतबारै भएको अर्को खेलमा १४ औं वरीयताप्राप्त स्पेनकी गार्विन मुगुरुजाले सातौं वरीयताकी स्भेटलाना कुज्नेटसोभालाई हराउँदै सेमिफाइनलमा स्थान बनाइन् । मुगुरुजाले रसियन सुन्दरीलाई ६–३, ६–४ को सेटमा हराएकी थिइन् । विम्बल्डनमा पछिल्लो पाँच सहभागितामा नाडाल क्वार्टरफाइनलभन्दा अगाडि नै बाहिरिएको यो पाँचौं पटक हो । फ्रेन्च ओपनमा १०औं पटक उपाधि जितेको केही हप्तापछि नाडालले विम्बल्डनमा निराशा भोगेका हुन्।