कोरोना उपचार गर्ने निजी अस्पतालले प्रतिदिन ३५ सय सम्म लिन पाउने

श्रावण १५,२०७७

-

साउन १५, २०७७ काठमाडौं ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना (कोभिड-१९) को उपचार गर्ने निजी अस्पतालहरुका लागि शुल्क तोकेको छ । मन्त्रालयले गरेको निर्णयमा सूचीमा नपरेका निजी अस्पतालहरुमा कोरोना संक्रमितको उपचार गर्न चाहनेहरुले अस्पतालको सहमतिमा उपचार गर्न सक्ने र सेवा शुल्क लक्षण अनुसार तोकिएको हो ।
 
मन्त्रालयका अनुसार सामान्य लक्षण भएका बिरामीहरुको उपचारबापत सम्बन्धित अस्पतालले प्रतिदिन ३५ सय, मध्यम जटिल बिरामीहरुको उपचारबापत ७ हजार र जटिल अवस्थाका बिरामीहरुको उपचारबापत १५ हजारमा नबढ्ने गरी शुल्क लिन पाउने भएका हुन् ।
 
यसअघि कोभिडको उपचार गर्दै आएका निजी अस्पतालहरुले आफूखुसी शुल्क लिने गरेका थिए ।
 
त्यसैगरी कोभिड १९ पीसीआर परीक्षणका लागि सूचीकृत नभएका अस्पतालहरुले शंकास्पद व्यक्तिहरुको पीसीआर परीक्षणका लागि तोकिएको शुल्कको १० प्रतिशतमा नबढ्ने गरी सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । साथै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोभिड १९ परीक्षणका लागि स्वीकृति दिइएका प्रयोगशालाहरुलाई स्वीकृत निर्देशिकाबमोजिम सस्शुल्क कोभिड १९ परीक्षणका लागि स्वीकृति दिइएको छ ।