चमेरोमा दशकौंदेखि कोरोना भाइरस रहेको बेलायती अध्ययनको संकेत

६ दिन अगाडि



साउन १५, २०७७ काठमाडौं ।
विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस दशकौंदेखि चमेरोका शरीरमा रहेको हुन सक्ने बेलायती एक अध्ययनले संकेत गरेको छ । बेलायतमा गरिएको एक अध्ययनमा ४० देखि ७० वर्ष अघिदेखि चमेरोमा कोरोना भाइरस(कोभिड-१९) देखिएको हुन सक्ने बताइएको छ  ।
 
त्यही भाइरस अहिले मानिससम्म पुगेको अध्ययनकर्ताहरुले बताएका छन् । वैज्ञानिकहरुको यो शोधसँगै कोरोना भाइरसका बारेमा चर्चा गरिएको ‘कन्स्पिरेसी थियरी’ पनि फितलो देखिएको छ । यो भाइरस ल्याबमा तयार पारिएको हो भन्ने एकखाले तर्कलाई यो अध्ययनले निराधार देखाएको छ ।
 
ग्लासगो विश्वविद्यालयका प्राध्यापक डेभिड रोर्बटसनले नेचर माइक्रोबायोलोजी जर्नलमा यससम्बन्धी शोधपत्र प्रकाशित गरेका हुन् । उनका अनुसार अहिलेको विश्वव्यापी महामारी सार्स-कोभ २ भाइरस आनुवंशिक रुपले चमेरोमा पाइने भाइरससँग निकै नजिक रहेको छ ।
 
समयक्रमसँगै चमेरोमा पाइने भाइरस सार्स-कोभ २ छुट्टिएको पनि प्राध्यापक रोबर्टसनले बताएका छन् । ‘यसको अर्थ यो हो कि, मानिसमा देखिएको कोरोना भाइरस केही समय पहिलेदेखि नै अस्तित्वमा थियो । तर हामीलाई अहिलेसम्म थाहा छैन कि कहिले र कसरी यो भाइरस मान्छेमा प्रवेश गऱ्यो,’ बीबीसीसँगको कुराकानीमा उनले भने, ‘यदि हामीले यसलाई चमेरोमा पाइने आम भाइरसको रुप मान्ने हो भने, हामीले यसबारेमा अझै अध्ययन र निगरानी गर्नुपर्नेछ ।’
 
भविष्यमा महामारी फैलनबाट रोक्नका लागि मानिसमा पाइएको भाइरस मात्रै होइन, चमेरोमा पाइने भाइरसका बारेमा पनि अध्ययन गर्नुपर्ने उनी बताउँछन् । यदि दशकौंदेखि यो भाइरस अस्तित्वमा रहेको भए अन्य जीवमा पनि उक्त भाइरस भेटिने सम्भावना रहेको उनको दाबी छ ।
यस अनुसन्धानका लागि शोधकर्ताहरुले कोभिड-१९ बाट बिरामी बनाउने सार्स–कोभ २ भाइरसको जेनेटिक कोड र यसैसँग मिल्दोजुुल्दो चमेरोमा पाइने भाइरस RATG-13भाइरससँग तुलना गरिएको थियो । शोधका क्रममा दुवैका पूर्वज एकै पाइएको र विकासक्रमसँगै फरक हुँदै गएको प्राध्यापक रोबर्टसन बताउँछन् ।