सैनिकको कुटपिटबाट मृत्यु भएका राजकुमारको परिवारलाई १० लाख दिने

श्रावण १७,२०७७

-

साउँन १७,२०७७ काठमाडौं ।
चितवन राष्ट्रिय निकुञ्‍ज सुरक्षार्थ खटिएका सैनिकले नियन्त्रणमा लिई कुटपिट गरेको साता दिनपछि मृत्यु भएका राप्ती नगरपालिका-२ पिप्ले मिलनटोलका राजकुमार चेपाङका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने लिखित प्रतिबद्धता जनाइएको छ ।
 
जिल्ला प्रशासन कार्यालयमा शुक्रबार साँझ भएको छलफलमा मृतकका परिवारलाई निकुञ्‍जले ७ लाख र राप्ती नगरपालिकाले ३ लाख रुपैयाँ दिने सहमति जनाएका हुन् । सहमतिपछि राजकुमारका बुवा विष्णुलाल उनको शव बुझ्न शनिबार काठमाडौं आएका छन् ।
 
मृतकका परिवारलाई राहत उपलब्ध गराउने मिति भने सहमतिपत्रमा उल्लेख छैन ।
 
राप्ती नगर प्रमुख प्रभा बराल, उपप्रमुख इमानसिंह लामा, नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियार, कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठ, राप्ती–२ का वडाध्यक्ष श्यामसुन्दर उप्रेती, राप्ती–१२ का वडाध्यक्ष अर्जुन चेपाङको रोहबरमा सहमति भएको हो ।
 
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई निकुञ्‍जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती र निकुञ्‍ज सुरक्षार्थ तैनाथ बटुक दल गणका गणपति प्रमुख सेनानी अरुण श्रेष्ठसमेत सहभागी बैठकले उक्त निर्णय गरेको हो ।
 
 
रुपाखेतीको विभागमा सरुवा भइसकेको छ । उनको ठाउँमा अणनाथ बराल आउने भएका छन् । बरालले जिम्मेवारी सम्हालिसकेका छैनन् । राहत उपलब्ध गराउने मिति उल्लेख नगर्नु र सरुवा भएका निकुञ्‍ज प्रमुखको उपस्थितिमा निर्णय भएका कारण परिवारले सहमति कार्यन्वयनमा आशंका प्रकट गरेका थिए । तर सबैले सम्झाएपछि उनीहरु शव बुझेर दाहसंस्कार गर्न राजी भएका हुन् ।