अन्तराष्ट्रिय प्रसङ्ग
आषाढ ३०,२०७४
-एजेन्सी
३० आसार/ब्रासिलिया- ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा. सिल्भालाई भ्रष्टाचारको आरोपमा साढे ९ वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि राज्यनियन्त्रित तेल कम्पनी पेट्रोब्रासबाट घुसस्वरूप समुद्री तटमा पर्ने १० लाख डलर मूल्यबराबरको अपार्टमेन्ट लिएको अभियोगमा दोषी ठहर गरिएको हो । डा. सिल्भाका वकिलले जेल सजायका विरुद्ध पुनरावेदन गरिने जानकारी दिएका छन् । सिल्भाले आफूमाथि लागेको आरोप राजनीतिबाट प्रेरित रहेको भन्दै अस्वीकार गर्दै आएका छन् । लुलाको दलका नेता कार्लोस जराटिनीले अदालतको निर्णय राजनीतिक प्रकृतिको भएको टिप्पणी गरेका छन् । उनले भने, ‘न्यायाधीशको निर्णय एक व्यापारीको बयानमा आधारित छ । यो निर्णय लुलालाई सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा भाग लिन नदिने हिसाबले गरिएको हाम्रो ठहर छ ।’ उनीमाथि रहेका पाँच मुद्दामध्ये यो पहिलो मुद्दा हो । अरू चार मुद्दामा सुनुवाइ हुन बाँकी नै रहेको छ । आफ्नो बाल्यकालमा गरिबीको सामना गरेका नेता सिल्भा ब्राजिलका निकै चर्चित राष्ट्रपति हुन् । उनले ब्राजिलमा रहेका सामाजिक र आर्थिक असमानता हटाउनका लागि निकै ठूलो भूमिका खेलेको मानिन्छ । ब्राजिलको एक संसदीय समितिमा वर्तमान राष्ट्रपति मिसेल टेमेर मुछिएको एक भ्रष्टाचार मुद्दाको सुनुवाइ गर्न सर्वोच्च अदालतलाई अनुमति दिने कि नदिने भन्नेबारे छलफल चलिरहेको छ । टेमेरविरुद्ध देशकै सबैभन्दा ठूलो मासु विक्रेता कम्पनीबाट घुस लिएको आरोप छ । उनको मुद्दामाथि छलफल अघि बढाउन दिने वा नदिने भन्नेबारे शुक्रबार संसदीय समितिमा मतदान हुने कार्यक्रम छ । त्यसअघि ब्राजिलका पूर्वराष्ट्रपति सिल्भाले भ्रष्टाचार गरेको ठहर अदालतले गरेको हो । सिल्भाले त्यहाँको वर्कर्स पार्टीका तर्फबाट सन् २०११ सम्म आठ वर्ष राष्ट्रपतिको रूपमा लगातार सेवा गरेका थिए । उनीपछि राष्ट्रपति बनेकी वर्कर्स पार्टीकी नेतृ डिल्मा रुसेफलाई गत वर्ष महाअभियोग लगाएर हटाइएको थियो । आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा वर्कर्स पार्टीबाट पुनः उम्मेदवार बन्ने घोषणा गरेका सिल्भामाथि लागेको यो आरोपले गम्भीर धक्का पुगेको छ । वर्कर्स पार्टीका प्रमुख तथा सिनेटर ग्लेसी हफम्यानले यसलाई राष्ट्रपति बन्नबाट रोक्न गरिएको षड्यन्त्रको संज्ञा दिएकी छन् । उनले सिल्भाविरुद्धको फैसलाविरुद्ध पार्टीले प्रदर्शन गर्ने समेत जानकारी गराएकी छन् । सिन्द्धान्ततः उनीमाथिको कानुनी प्रक्रिया अन्त्य नभएसम्म राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्न उनले पाउनेछन् । ब्राजिलका निकै लोकप्रिय नेतामाथि लागेको यो आरोप ठीक या बेठीक भन्ने विषयलाई लिएर सिंगो ब्राजिल नै विभाजित बनेको छ । यसपछि उनले ब्राजिलकै सबैभन्दा ठूलो भ्रष्टाचार स्क्यान्डल मानिएको कारवास काण्डबारेको छानबिनको सामना गर्नुपर्नेछ । बढ्दो राजनीतिक भ्रष्टाचारलाई लिएर ब्राजिलका जनतामा उत्पन्न तीव्र्र असन्तुष्टिका बीच तीन वर्षअघि यो काण्डको छानबिन सुरु भएको थियो । युनियन नेता लुला करिब आधा शताब्दीमा पहिलो वामपन्थी राष्ट्रपतिका रूपमा उदाएका थिए । उनी आफ्नो राष्ट्रपतिकालमा धेरै चर्चित बनेका नेता पनि हुन् । ब्राजिलमा उनीमाथि सुनाइएको सजायलाई लिएर केहीले खुसी व्यक्त गरे पनि सिल्भाका समर्थकले यसलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भन्दै कडा आलोचना गरेका छन् ।
प्रमुख समाचार
सम्वन्धित समाचार