कर्मचारीको आलोपालो प्रणालीमा सेवा दिन वित्तीय संस्थालाई निर्देशन

श्रावण २५,२०७७

-

साउन २५,२०७७ काठमाडौं । 
कोभिड-१९ को जोखिम उच्च बनेपछि राष्ट्र बैंकले फेरि बैंक तथा वित्तीय संस्थालाई कर्मचारीको आलोपालो र सम्भव भएसम्म घरबाटै काम गराउन निर्देशन दिएको छ । 
 
राष्ट्र बैंकले आइतबार सूचना निकालेर बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो । यस्तो विषम परिस्थितिमा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अपनाएर कसरी गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने बारेमा ‘विजनेश कन्टिन्यस्टी प्लान’ बनाउन पनि राष्ट्र बैकले आग्रह गरेको छ ।
 
‘सोही योजनाअनुसार कोभिडको जोखिम व्यवस्थापन गर्न आवश्यकताअनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउने,’ सूचनामा भनिएको छ ।
 
सरकारले देशको विभिन्न स्थानमा बन्दाबन्दी, निषेधाज्ञा, सार्वजनिक तथा निजी सवारी साधनको आवागमनमा जोरबिजोर प्रणाली लगायत विशेष परिस्थितिलाई मध्येनजर गरी घरबाटै काम गर्ने वातावरण बनाउन पनि राष्ट्र बैंकले भनेको छ ।
 
यस्तै, प्रदेशमा सञ्चालन भएका शाखाहरुको हकमा सम्बन्धित, प्रदेश, स्थानीय तह र स्थानीय प्रशासनको निर्णयबमोजिम गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ ।