विश्वकप छनोटको बन्द प्रशिक्षण स्थगित
-
साउन २८,२०७७ काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप छनोटको बन्द प्रशिक्षण अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरेको छ ।
एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले मंगलबार विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु सन् २०२१ सम्मका लागि स्थगित भएको जानकारी दिएसँगै एन्फाले पनि बन्द प्रशिक्षण स्थगित भएको जनाएको छ ।
नेपालले भदौ १ गतेबाट विश्वकप छनोटको बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरेको थियो । अक्टुबर र नोभेम्बर २०२० मा छनोटका बाँकी खेल आयोजना गर्ने मिति तय भएपछि एन्फाले खेलाडीलाई बन्द प्रशिक्षणका लागि काठमाडौं डाँकेको थियो ।
देशका विभिन्न ठाउँबाट काठमाडौं पुगेका खेलाडीले प्रशिक्षण सुरु हुनु पूर्व साउन १७ गतेबाट क्वारेन्टिनमासमेत बसेका थिए । क्वारेन्टिनमा बसेका सबै खेलाडी र पदाधिकारीहरुको सोमबार र मंगलबार कोरोना परिक्षण समेत गरिएको थियो । तर, छनोटका बाँकी खेल स्थगित भएपनि बन्द्र प्रशिक्षण पनि स्थगित भएको हो ।