असारे धान रोपाई साउनमा सकियो, पाँच वर्ष यताकै सबैभन्दा धेरै क्षेत्रफलमा रोपाइँ

श्रावण २८,२०७७

-

साउन २८,२०७७ काठमाडौं । 
 
देशभर असारले धानको रोपाइँ सकिएको छ । यस वर्ष पछिल्लो पाँच वर्ष यताकै सबैभन्दा धेरै क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
 
कुल धान रोपाइँ हुने क्षेत्रफलको ९८.१९ प्रतिशत भूभागमा रोपाइँ सकिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरि बहादुर केसीले जानकारी दिए ।
 
गत वर्ष कुल क्षेत्रफलको ९७.९३ प्रतिशत भू-भागमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ । देशभर रोपाइँ योग्य १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफल मध्ये यसवर्ष १३ लाख ४६ हजार ९ सय २० भूभागमा रोपाइँ सकिएको विभागले जनाएको छ ।
 
गत वर्षको तुलनामा यस वर्ष उच्च पहाड, मध्य पहाड र तराईका धेरै भूभागमा रोपाइँ भएको छ । उच्च पहाडमा ९८.५४ प्रतिशत, मध्य पहाडमा ९७.२७ र तराईमा ९८.५० प्रतिशत भूमागमा रोपाइँ भएको छ ।
 
यस वर्ष सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९९.८६ प्रतिशत भूभागमा रोपाइँ भएको छ भने प्रदेश एकमा सबैभन्दा कम ९५.८८ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ । समयमै सुरु भएको मनसुन र श्रमिकको उपलब्धताले गत वर्ष भन्दा छिटो र धेरै भू-भागमा सफलतापूर्वक रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।
 
समयमै रोपाइँ हुँदा धानको उत्पादन बढ्ने र अन्य कृषि चक्र पनि समयमै अघि बढ्ने मन्त्रालयको विश्वास छ ।