नेपाल धितोपत्र बोर्डको बुक बिल्डिङसम्बन्धी निर्देशिका जारी, सय रुपैयाँमा शेयर नपाइने

श्रावण २९,२०७७

-

साउन २९,२०७७ काठमाडौं ।
अंकित मूल्यभन्दा बढी (प्रिमियम) मा साधारण शेयर निष्कासन (आईपीओ) गर्न पाउने व्यवस्था कार्यान्वयनमा आएको छ । 
 
नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङसम्बन्धी निर्देशिका जारी गर्दै त्यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । बोर्ड सञ्चालक समितिको साउन २२ गतेको निर्णयअनुसार बुधबारदेखि त्यस्तो निर्देशिका जारी गरिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए । 
 
यो निर्देशिकासँगै वर्षौंदेखि सञ्चालनमा रहेका तथा ठूलो सिञ्चित कोष भएका पब्लिक कम्पनीहरुका लागि प्रिमियम मूल्य राखेर आईपीओ निष्कासन गर्ने बाटो खुला भएको छ । यसले त्यस्ता कम्पनीहरु दोस्रो बजारको पहुँचमा आउने अपेक्षा बोर्डले गरेको छ ।
 
यसअघि गत फागुनमा बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गरी बुक बिल्डिङमार्फत् सार्वजनिक निष्कासन गर्न पाउने व्यवस्था थप गरेको थियो । तर सोसम्बन्धी निर्देशिकाको अभावमा त्यो व्यवस्था कार्यान्वयनमा आउन सकिरहेको थिएन । 
 
अब भने निर्देशिकाले गरेको व्यवस्थापन र पूर्वाधार पुर्याएर यसरी शेयर बिक्री गर्ने बाटो खुलेको छ ।