Trending :
 

ब्राजिलबाट आयात गरेको कुखुराको मासुमा कोरोनाभाइरस भेटियो, सावधानी अपनाउन चीनको अपिल

श्रावण ३०,२०७७

-

साउन ३०,२०७७ काठमाडौं ।
चीनले ब्राजिलबाट आयात गरेको कुखुराको मासु (पखेटा)मा कोरोनाभाइरस भेटिएको दाबी गरेको  छ । गत हप्ता यहाँको यान्ताई शहरमा इक्वाडोरबाट पठाइएको समुद्री झिङ्गे माछा पनि कोरोना भाइरसद्वारा संक्रमित भेटिएको बताइएको थियो । चीनले जूनमा ब्राजिलसमेत केही अन्य देशबाट मासुको आयातमा रोक लगाएको थियो । यद्यपि, पछि यो हटाइएको थियो ।
 
शेनझेनको स्थानीय डिजीज कन्ट्रोल सेन्टर (सीडीसी) ले नियमित अनुसन्धानको क्रममा ब्राजिलबाट पठाएको कुखुराको मासुको स्याम्पल लिएको थियो । परीक्षण गर्दा कोरोनाको रिपोर्ट पोजेटिभ आयो । अधिकारीले संक्रमित कुखुराको मासुको सम्पर्कमा आएका अन्य केही उत्पादनको पनि परीक्षण गरेको तर त्यसको रिपोर्ट नेगेटिभ आएको बताएको छ । यद्यपि, ब्राजिलले यसबारे कुनै बयान जारी गरेको छैन ।
 
भाइरस २० डिग्री सेल्सियसभन्दा मुनिको तापक्रममा दुई वर्षसम्म जिवित रहन सक्छ तर वैज्ञानिक र अधिकारीले कोरोनाभाइरस फ्रोजन खानेकुराबाट फैलिएको अहिलेसम्म कुनै प्रमाण नभेटिएको बताएका छन् ।
 
‘मानिसहरु खाना, प्याक गरिएका खानेकुरा र आफ्नो ढोकासम्म आइपुगेका खानासँग डराउनु पर्दैन,’ विश्व स्वास्थ्य संगठनको आपतकालीन कार्यक्रमका प्रमुख माइक रायनले बताए ।
 
अमेरिकाको खाद्य तथा औषधी प्रशासन र कृषि विभागले एक संयुक्त प्रेस वक्तव्य जारी गर्दै खाना वा प्याक गरिएका खानाबाट मानिसमा कोभिड–१९ सरेको कुनै प्रमाण भेटिएको छैन ।
 
मानिसहरुलाई सावधानी अपनाउन अपिलः
यद्यपि, शेनझने सिडिसीले अन्य देशका खाद्य सामग्रीमा सावधानी अपनाउन सल्लाह दिएको छ । जूनमा चीनको राजधानी बेइजिङको शिनफेडी सीफूड मार्केटमा संक्रमण देखिएको बताइएको थियो । त्यसपछि नै सरकारले सबै खाद्य सामग्रीको स्याम्पल लिएर त्यसको कोरोना परीक्षण गरिरहेको छ ।