सहकारीको संस्थागत पूँजीको ५० प्रतिशत उत्पादनमूलक कार्यमा लगाऔं:मन्त्री अर्याल

श्रावण ३२,२०७७

-

साउन ३२,२०७७ काठमाडौं ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले संस्थागत पूँजी ५ प्रतिशत भन्दा बढी भएका सहकारीले संस्थागत पूँजीको ५० प्रतिशत उत्पादनमूलक कार्यमा लगाउनुपर्ने बताउनुभएको छ । 
 
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकून)को ३३ औं स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजीत कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । 
 
सहकारी ब्यवसायिकतामा लैजाउ र रोजगार सिर्जना गर्ने खालका प्रकृतिका काम गरौं भनिरहेका बेला अब बाध्यकारी नियम ल्याएर सहकारीलाई व्यवसायिकतामा लगाउनुपर्ने मन्त्री अर्यालको भनाई थियो । 
 
‘संस्थागत पूँजी ५ प्रतिशत भन्दा बढी भएका जतिपनि संस्था छन्, ती संस्थाको संस्थागत पूँजीको ५० प्रतिशत व्यवसायिकतामा लगाउने गरी तयारी गरिएको छ’, मन्त्री अर्यालले त्यस अवसरमा भन्नुभयो ।
 
संस्थागत सवलीकरणमा विशेष जोड दिँदै उहाँले सहकारीले आफ्ना सदस्यहरुको हित पहिलो शर्त बनाउनुपर्ने दोहो¥याउनुभयो ।
 
विपन्न वर्गलाई सहकारीमा आवद्ध गराई स्वरोजगारका अवसर दिई जिविकोपार्जनका आधार तयार गर्नुपर्ने भन्दै उहाँले सहकारीतामा व्यवसायिकता आउनका निम्ती अनिवार्य व्यवस्था गर्नैपर्ने बताउनुभयो । 
 
ब्याजको सन्दर्भमा छलफल गरेर जानुपर्ने भन्दै मन्त्री अर्यालले सहकारीमा सबैभन्दा कम ब्याज हुनुपर्ने हो, तर सबैभन्दा बढी भयो भन्ने गुनासोलाई सम्बोधन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सहकारीमा सबैभन्दा कम ब्याज हुनुपर्ने हो ।
 
तर सबैभन्दा बढी ब्याज छ । जसले गर्दा गरिब र सीमान्तकृत, आधारभूत समुदायले कर्जा लिएर आफ्नो जीवनस्तर उकास्न सहज देखिदैन ।’
 
सहकारी प्रविधिको प्रयोग र दक्ष जनशक्तिको आकर्षण सोचेअनुरुप पर्याप्त हुन नसकेको भन्दै मन्त्री अर्यालले सहकारीहरु अझैपनि झोलामा हिड्न, बाकसमा राखेर चल्न रुचाउने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो । 
 
अबको सहकारी क्षेत्र अनुदान वितरणबाट नभएर उत्पादन र रोजगारीमार्फत स्थापित हुने दिशातर्फ लाग्नुपर्ने उहाँको भनाई थियो ।