नेपाल राष्ट्र बैंकद्धारा पुनर्कर्जाको लागि आवेदन आह्वान

भाद्र ०२,२०७७

-

भदौ २,२०७७ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको लागि आवेदन आह्वान गरेको छ ।
 
डेढ महिनाको समय दिएर राष्ट्र बैंकले त्यस्तो आवेदन आह्वान गरेको हो । सोमबारदेखि खुला भएको आवेदनका लागि असोज १४ गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ । सस्तो ब्याजदका कुल एक सय अर्बसम्म ऋण प्रवाह गर्ने भएकोले राष्ट्र बैंकको यो आह्वानलाई महत्त्वपूर्ण मानिएको छ ।
 
राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले मौद्रिक नीतिले व्यवस्था गरेबमोजिम कोभिड प्रभावित उद्योग व्यवसायलाई सहुलियत दिएर पुनरुत्थान गर्ने हिसाबले यस्तो कार्यविधि ल्याइएको बताए ।
 
उनले भने, कोभिड-१९ बाट प्रभावित उद्योगका लागि सहुलियत ब्याजदरमा कर्जाको स्रोत उपलब्ध गराउने मौद्रिक नीतिको लक्ष्य अनुरुप पुनर्कर्जाको लागि आह्वान गरिएको हो ।
 
बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको क्षेत्रमा ऋण प्रवाह गरेबापत राष्ट्र बैंकले बैंकहरुलाइ दिइने कर्जा नै पुनर्कर्जा हो । राष्ट्र बैंकले अहिले ३ भागमा वर्गीकरण गरेर पुनर्कर्जा वितरण गर्नेगरी कार्याविधि ल्याएको छ ।
 
सो कार्यविधिले लघु घरेलु तथा साना उद्यम पुनर्कर्जा, विशेष पुनरकर्जा र साधारण पुनरकर्जा गरी तीन प्रकारले यस्तो कर्जा प्रवाह गर्न लागेको हो ।
 
लघु घरेलु तथा साना उद्योग पुनर्कर्जाबापत १५ लाख रुपैयाँसम्मको पुनकर्जा दिन्छ । यसमा नेपाल राष्ट्र बैंकले बैंकहरुसँग २ प्रतिशत ब्याजदर लिन्छ भने बैंकहरुले ग्राहकलाई ५ प्रतिशत ब्याजदरमा ऋण दिने व्यवस्था गरिएको छ ।