साउन महिनामा ६१ अर्ब राजस्व संकलन

भाद्र ०३,२०७७

-

भदौं ३,२०७७ काठमाडौं ।
सरकारले लकडाउन खोलेपछिको पहिलो महिनामा राजस्व संकलन सन्तोषजनक देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो महिना (साउन)मा झण्डै गत वर्षको पहिलो महिनाकै हाराहारीमा राजस्व संकलन भएको छ ।
 
तथ्यांकअनुसार २ भदौ (मंगलबार)सम्म कुल ६१ अर्ब ३७ करोड ८५ लाख रुपैयाँ राजस्व उठेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा २ भदौसम्म ६९ अर्ब ७७ करोड ८९ लाख रुपैयाँ राजस्व उठेको थियो ।
यो वर्ष सरकारले कुल १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । भदौ २ सम्म उठेको रकम कुल लक्ष्यको ६.०७ प्रतिशत रहेको छ ।
 
यो वर्ष सरकारले चैतयता राजस्व संकलन लक्ष्यअनुसार गर्न सकेको थिएन । तर, असारमा भने बाँकी रहेको धेरैजसो राजस्व प्राप्त भएको थियो । यो वर्ष असारसम्म कुनै न कुनै प्रकारको अवरोध रहेपनि साउनमा भने लकडाउनका कारण बजार तथा व्यवसायी प्रभावित भएन ।
 
यो वर्ष राजस्वबाहेक अन्य प्राप्तिबाट ८ अर्ब १२ करोड ७२ लाख उठेको छ । यसबाट सरकारको खातामा कुल ६९ अर्ब ५० करोड ५८ लाख रुपैयाँ जम्मा भएको छ ।
 
सरकारको खातामा साढे ६९ अर्ब रुपैयाँ जम्मा भएको यो महिना खर्च भने नगन्य भएको देखिएको छ । महालेखाको तथ्यांक अनुसार २ भदौसम्म २ अर्ब १४ करोड ८७ लाख मात्र खर्च भएको देखाएको छ ।
 
त्यसमध्ये पूँजीगत खर्च मात्र १३ करोड २२ लाख रहेको छ । गत आवको २ भदौसम्म ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ खर्च भएको थियो ।
 
१ महिनाको तथ्यांक अनुसार वैदेशिक व्यापारतर्फ आयात भने यो महिनापनि ओरालो लागेको छ । भन्सार विभागको प्रारम्भिक तथ्यांकअनुसार साउन महिनाभर ८५ अर्ब ८० करोड रुपैयाँको आयात भएको छ ।