महात्मा गान्धीको चस्मा चार करोड आठ लाख रुपैयाँमा विक्री
-
भदौं ६,२०७७ काठमाडौं ।
ब्रिटेनस्थित लिलाम गर्ने एउटा कम्पनीले महात्मा गान्धीको एउटा चस्मा चार करोड आठ लाख रुपैयाँमा विक्री गरेको छ।
एक अमेरिकी सङ्ग्रहकर्ताले उक्त चस्मा लिलाम बढाबढ मार्फत् खरिद गरेका हुन्।
ईस्ट ब्रिस्टल अक्शन्श लिमिटेडका अनुसार अगस्ट महिनाको ३ तारिखमा एउटा साधारण खामभित्र कुनै व्यक्तिले छोडेको अवस्थामा उक्त चस्मा फेला पारिएको थियो।
आफूहरूले शुरूमा अनुमान गरेकोभन्दा बढी रकममा चस्मा विक्री भएको कम्पनीका एन्ड्र्यू स्टोले बताए।
उक्त चस्माको मूल्य बताइँदा त्यसको स्वामित्व भएका व्यक्ति झन्डै मूर्च्छित भएको उनी बताउँछन्।
चस्माको स्वामित्व भएको ब्रिस्टलको म्यानगस्ट्सफील्डका वयोवृद्धले लिलामीबाट आएको रकम आफ्नी छोरीसँग बाँड्ने बताएका छन्।
ईस्ट ब्रिस्टल अक्शन्श लिमिटेडका एन्ड्र्यू स्टोले भने, लगभग ५० वर्षसम्म त्यो चस्मा दराजभित्र त्यसै थियो। लिलामीमा राख्ने व्यक्तिले कुनै कामको चिज नभएको भन्दै त्यसलाई फालिदिन्छु भनेर मलाई एकताका भनेका थिए।
चस्माको स्वामित्व भएको व्यक्तिका लागि यो लिलामी राम्रो कुरा हो। बुढेसकालमा उनलाई यो ठूलो रकम निकै काम लाग्ला।
महात्मा गान्धीको चस्मालाई एउटा नयाँ ठाउँमा पुर्याउन पाएकोमा हामीलाई खुशी लागेको छ। यो लिलामी हाम्रो लागि नयाँ कीर्तिमान त हुँदै हो तर ऐतिहासिक रूपमा पनि महत्त्वपूर्ण छ,उनले थपे। बिबिसीले खबर लेखेको छ ।