आर्थिक प्रसङ्ग
श्रावण ०३,२०७४
-रासस
३ श्रावण,काठमाडौं –
बाग्मती पेट्रोलियम डिलर्स एशोसिएशनले सरकारले आफुहरुको माग पुरा नगरेको भन्दै मंगलबारदेखि पेट्रोलिय पदार्थको खरिद विक्रि ठप्प पारेका छन् ।
नेपाल आयल निगम संचालक समितिको बैठकले सिंकेज लस र वर्किङ लसको कारण व्यवसायीले व्यहोर्दै आएको मागलाई सम्बोधन नगरेपछि व्यवसायी आन्दोलित भएका हुन् । निगमले सिंकेज लस र वर्किङ लसको अध्ययन अनुगमन गरी छानविन टोलिले झण्डै एक बर्ष लगाएर तयार पारेको प्रतिवेदनलाई कार्यान्वयन नगरी सो छानविन समिति नै भंग गरी अर्को समिति गठन गरेपछि व्यवसायी आन्दोलित भएका हुन् ।उनीहरुले तीन दिन भित्र माग पूरा नभए सबै पेट्रोलियम पदार्थको खरिद विक्री रोक्ने चेतावनी दिएका छन् ।
पेट्रोलियम पदार्थको कारोवार गर्दा पेट्रोल र डिलेजमा धेरै घाटा भएको कारण व्यवसाय नै बन्द गरेर हड्ताल गर्नु परेको व्यवसायीको गुनासो छ । सरकारी निकायहरुको रोहवरमा पटक पटक गरिएको परिक्षणमा प्रति ४ हजार लिटर ल्याउँदा पेट्रोल ९९ र डिजेल ४८ लिटरसम्म अपुग रहेको देखिएको वास्तविकता नस्वीकारी पुन समिति गठन गर्नुले आफुहरुको माग प्रति सरकार गम्भीर नभएको स्पष्ट भएको व्यवसायीको आरोप छ । वाग्मती पेट्रोलियम डिलर्स एशोशिसयन, नाप तौल तथा गुणस्तर विभाग, नेपाल आयल निगम लगायत संघसंस्थाका प्रतिनिधि संग्लग्न छानविन समितिले यसअघि नै पेट्रोलियम कारोवार गर्दा तेल नपुगेको प्रमाणित गरेका थिए ।
समितिले १ बर्ष लगाएर तयार पारेको अध्ययन प्रतिवेदनमा भारतीय आयल निगमबाट तेल भर्ने क्रममा, बाटोमा हुने चोरी, तापक्रमका कारण तथा प्राविधिक कारणले इन्धनमा धेरै घाटा देखिएको उल्लेख छ । सो प्रतिवेदन कार्यान्वयन गरी निगम संचालक समितिको सोमबारको बैठकले पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका एक, नास्टका एक, आयल निगमका १ र २ व्यवसायी रहने गरी नया समिति बनाएपछि व्यवसायी पुन आन्दोलित भएका हुन् । भारतीय आयल निगमबाट तेल भर्ने समय देखि राजधानी ल्याउने समय सम्म हुने प्राविधिक घाटाको पुर्ति निगम बाट हुनुपर्ने माग व्यवसायीले गर्दै आएका छन् ।
प्रमुख समाचार