डिसेम्बरदेखि कोरोनाको खोप बिक्री गर्ने चीनको तयारी
-
भदौ ११,२०७७ काठमाडौं ।
चीनको वुहानबाट सन् २०१९ डिसेम्बरबाट सुरु भएको नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विश्वभरका मुलुकहरुले लकडाउन र कोभिड कर्फ्यु जारी गरेका छन् । सामाजिक दूरी, अनिवार्य मास्क, स्यानिटाइजरको प्रयोगलगायत स्वास्थ्य मापदण्डहरु बनाइएका छन् ।
यसैबिच, चीन भने विश्वका अन्य मुलुकभन्दा आफूले अगाडि खोप विकास गर्ने प्रतिस्पर्धाको प्रयासमा छ । उसले आफ्नो खोप विकासमा भइरहेको निरन्तरको प्रगतिबारे सार्वजनिक जानकारी गराउँदै आएको छ । चिनियाँ सञ्चारमाध्यमले गत साता विकासको क्रममा रहेको एउटा खोपको तस्बिर सार्वजनिक गरेको थियो । तस्बिरमा प्रयोगशालामा एउटी महिलाले खुसी हुँदै एउटा सानो बाकस समातेकी छन् ।
विश्वभर तेस्रो चरणमा रहेको परीक्षणमा क्रममा रहेका ६ वटा खोपमध्ये तीनवटा चिनियाँ हुन् । यस चरणमा खोपको बृहत् परीक्षण आवश्यक हुन्छ । तेस्रो चरणको परीक्षणमा रहेको एउटा खोप चिनियाँ फर्मासिटिकल कम्पनी सिनोफार्मले विकास गरिरहेको खोप हो । सिनोफार्मले डिसेम्बरसम्ममा खोप बजारमा ल्याउने विश्वसा व्यक्त गरेको छ । उसले खोप मूल्य १४० अमेरिकी डलर अर्थात् १०६ युरो तोकेको छ । यो भनेको करिब १६ हजार ५०० नेपाली रुपैयाँ पर्छ ।
तेस्रो चरणको परीक्षणका लागि चीनले कोरोना भाइरसका बढी संक्रमित मुलुकहरुसँग समन्वय गरिरहेको छ । बृहत् परीक्षणमा सफलता प्राप्त गरेपछि मात्रै खोप सफल भएको मानिन्छ । यसका लागि चीन आफ्नै देशमा आवश्यकताअनुसार खोप परीक्षण गर्ने नसक्ने अवस्थामा छ । किनभने चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा छ र परीक्षणका लागि संक्रमितको संख्या निकै न्यून छ ।
हङकङ विश्वविद्यालयको पब्लिक स्कुल अफ हेल्थका प्राध्यपक बेन काउलिङले भने, तेस्रो चरणमा रहेका सबै खोप निर्माताहरू हजारौं व्यक्तिमाथि गरिने परीक्षणका लागि कोरोना भाइरस संक्रमण उच्च भएका स्थान खोजिरहेका छन् । मलाई लाग्छ अहिले तेस्रो चरणमा परीक्षण भइरहेका खोपहरू प्रभावकारी हुने धेरै राम्रो सम्भावना छ ।
उनले थपे, डिसेम्बरसम्ममा बजारमा केही खोपहरू आउन सक्छन्। तर आवश्यक पर्ने ठूलो मात्रामा उपलब्ध हुन्छन् कि हुँदैनन् भन्ने मलाई थाहा छैन । सन् २०२१ को ग्रीष्मतिर सबै नागरिकलाई कोभिड-१९ को खोप दिन सकिने उनको विश्वास छ ।
खोप कूटनीति र प्राथमिकता
चीनले खोप विकास गरेमा के गर्छ भन्ने कुरा स्पष्ट छैन । अमेरिका, बेलायतलगायत मुलुकहरुले खोप विकास भए सुरुमा आफ्ना नागरिकलाई खोप दिने बताइरहेको साउथ चाइना मर्निङ पोस्टले जनएको छ ।
चीनको कोरोना भाइरस नियन्त्रयणसम्बन्धी प्रतिवेदनमा भने कोभिड-१९ को खोप चीनमा विकास र प्रयोग गरेपछि विश्वव्यापी जनस्वास्थ्य उत्पादनको रूपमा प्रयोग गरिने उल्लेख छ ।
कोरोना नियन्त्रणका लागि चीन असफल भएको भन्दै संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलियालगायतका मुलुकहरुले आलोचना गरिरहेका बेला चीनले आफूमाथिको आलोचनालाई कम गर्ने खोपमा विश्वव्यापी पहुँच उपलब्ध गराउने रणनीति लिएको जनाइएको छ ।
यसअघि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले भनेका थिए, चीनले खोपमा अन्य मुलुककोजस्तो एकाधिकार खोज्दैन र खोप आफू मात्रै उत्पादन गरेर आफूलाई मात्र राख्ने छैन ।
चीनले आफूले उत्पादन गरेको खोप ग्लोबल पब्लिक गुड्सु हुने बताइरहेको छ । चिनियाँ कूटनीतिज्ञहरूले पनि नेपाल, अफगानिस्तान, पाकिस्तान र फिलिपिन्सलाई चीनले विकास गरेको खोपको पहिलो प्राथमिकतामा राख्ने आश्वासन दिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।
चीनले छिमेकी मुलक र अफ्रिका राष्ट्रहरूलाई चीनबाहिर खोप पठाउँदा ती देशहरूले पहिले पाउने संकेत गरेको बीबीसीले जनाएको छ ।