सज्जा चौलागाई नेपाल आइडल सिजन ३ की विजेता

भाद्र १३,२०७७

-

भदौं १२, २०७७ काठमाडौं ।
 
मोरङकी सज्जा चौलागाईं नेपाल आइडल सिजन ३ की विजेता बनेकी छन् । त्यस्तै प्रवीण बेडवाल फस्ट रनरअप भए भने किरण भुजेल दोस्रो बने । ग्रान्ड फिनालेमा प्रतिस्पर्धी, निर्णायक कोही उपस्थित थिएनन् ।
 
नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजिटिभ देखिएसँगै सबैजना आइसोलेसनमा जानु परेका कारण अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विजेता घोषणा गरेका हुन् ।
 
आइडल बनेकी सज्जाले ५० लाख रुपैयाँ पुरस्कार पाएकी छिन् । त्यस्तै प्रवीणले १० र किरणले नगद ५ लाख पुरस्कार पाए ।
 
ग्रान्ड फिनालेको प्रस्तुति प्रशारणपछि यसबारे सूचना दिइएको थियो, कोभिड १९ को असरबाट नेपाल आइडल पनि अछुतो रहन सकेन । ग्रान्ड फिनालेका सम्पूर्ण प्रस्तुतिहरु सकिएपछि नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजिटिभ देखिएपछि प्रस्तुति पछाडिका सम्पूर्ण कार्यक्रम स्थगित गर्दै नेपाल आइडलका प्रतिस्पर्धी तथा निर्णायक आइसोलेसनमा जानुपर्ने बाध्यता आइलाग्यो ।
 
वाइल्ड कार्डको प्रस्तुतिपछि लकडाउनका कारण आइडल रोकिएको थियो । यो श्रृङ्खलापछि शीर्ष पाँच घोषणा गर्ने तयारी थियो । लकडाउन घोषणा हुनासाथ प्रतिस्पर्धीहरुलाई आ–आफ्नो घर पठाइएको थियो । लकडाउन खुकुलिएपछि दर्शकबिना नै बाँकी कार्यक्रम आइडलले प्रशारण भएको थियो ।
 
 
ग्रान्ड फिनालेमा सज्जाले एल्बरट्रसको निश्चल बोलको गीत प्रस्तुत गरेकी थिइन् ।