आर्सनलले जित्यो कम्युनिटी शिल्ड फुटबलको उपाधि

भाद्र १४,२०७७

-

भदौं १४,२०७७ काठमाडौं ।
 लिभरपुललाई हराउँदै आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ ।
 
वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा प्रिमियर लिग बिजेता लिभरपुललाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउँदै आर्सनलले उपाधि जितेको हो ।
 
खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउट गएको थियो ।
 
खेलको १२औं मिनेटमा आबुमियाङको गोलबाट आर्सनलले सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको ७३औं मिनेटमामिनामिनोले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काएका थिए । त्यसपछि खेल पेनाल्टीमा धकेलिएको थियो ।
 
पेनाल्टीमा आर्सनलका रेइस नेल्सन, एन्सले मेटल्यान्ड नाइल्स, सेड्रिक सोएरस, डेभिड लुइज र पेरिक एम्रिक आबुमियाङले गोल गरेका थिए । लिभरपुलका मोहमद सलाह, फाबिन्हो, ताकुमी मिनामिनो र कुर्टिस जोन्सले गोल गरे ।
 
युवा खेलाडी रिहन ब्रेउस्टरको प्रहार क्रस बारमा लागेर फर्किएको थियो ।
 
योसँगै आर्सनलले १६औं पटक कम्युनिटी शिल्डको उपाधि जितेको हो । प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको फाइनलमा खेल्ने गर्छन् ।
 
लिभरपुल प्रिमियर लिग विजेता हो । लिभरपुलले ३० वर्षपछि लिगको उपाधि जितेको थियो । आर्सनलले एफए कप जितेको थियो ।