राष्ट्रिय खुला तेक्‍वान्दो प्रतियोगितामा मूलपानी टिम च्याम्पियन

भाद्र १५,२०७७

-

भदौं १५,२०७७ काठमाडौं ।
 
मूलपानी तेक्‍वान्दो डोजाङ प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्‍वान्दो (पुम्से) प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । ३-३ स्वर्ण र रजत तथा ५ कास्यसाथ मूलपानी टिम च्याम्पियन बनेको हो ।
 
काठमाडौं जिल्ला तेक्‍वान्दो संघद्वारा आयोजित प्रतियोगितिामा १ स्वर्ण, २ रजत र १ कास्यसहित चितवन दोस्रो भयो । समान १-१ स्वर्ण, रजत र कास्य जितेको कैलालीले तेस्रो स्थानमा चित्त बुझायो । 
 
प्रतियोगितामा जम्मा ११ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । स्युचाटार, सैनिक महाविद्यालय, विजेश्वरी, नेपाल प्रहरी, नेपाली सेना र रुपन्देहीले १-१ स्वर्ण हात पारे ।
 
प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन ५ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । यू-१८ पुरुष एकलमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का कास्य विजेता अस्मिन राउतले स्वर्ण जिते । स्युचाटारका अस्मिनले ६.५३ अंक जोडे । 
 
चितवनका अब्बास खान ९५.९६० ले रजत तथा चितवनकै सागर बराल ९५.८३० र कैलालीका लक्ष्मण श्रेष्ठ ९५.६३० ले कास्य जिते । उक्त स्पर्धाको महिलामा सैनिककी रोशनी श्रेष्ठ सर्वाधिक ६.५० अंकसाथ पहिलो भइन् । चितवनकी जैनब खातुन ९६.२०० दोस्रो तथा मूलपानीकी अस्मिता नगरकोटी ९६.१३० र सुनसरीकी सुदेशना गुरुङ ९५.७६० तेस्रो भए ।
 
यू-३१ पुरुष एकलमा प्रेमबहादुर लिम्बू शीर्ष स्थानमा रहे । १३औं सागका कास्यधारी प्रहरीका उनले ६.७३ अंक हासिल गरे । सेनाका दीपेन्द्र गुरुङ ६.५० अंकसाथ दोस्रो भए । दीपेन्द्र पनि १३औं सागका कास्य विजेता हुन् । मूलपानीका पुष्पप्रसाद गौतम ९६.२०० तथा दोलखाका नोर्बु मोक्तान ९५.९६० संयुक्त रुपमा तेस्रो स्थानमा रहे ।