न्यायका लागि अनसन बसेकी टर्किस मानवअधिकारवादी वकिल इब्रु टिम्टिकको मृत्यु

भाद्र १५,२०७७

-

भदौं १५, २०७७ काठमाडौं ।
 
आफू र केही साथीहरुको मुद्दाको निष्पक्ष न्यायिक निरुपणका लागि लड्दालड्दै कुर्दिस-टर्किस मानवअधिकारवादी वकिल इब्रु टिम्टिकको मृत्यु भएको छ ।
 
आफू र साथीहरुको मुद्दाको निष्पक्ष न्यायिक निरुपणको माग गर्दै भोकहड्तालमा बसेकी टिमटिकको अगस्ट २७ मा मृत्यु भएको हो । भोकहडताल बसेको २३८औं दिनमा उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।
 
४२ वर्षीया टिमटिक, टर्की सरकारको आलोचना गरेकै आरोपमा जेल सजाय भोगिरहेका व्यक्तिहरुको मुद्दा लड्ने १८ जना वकिलहरुको समूहकी एक सदस्य थिइन् । जसलाई सन् २०१७ को सेप्टेम्बरमा पक्राउ गरिएको थियो । भोकहड्तालका कारण टिमटिक निकै दुब्लाएकी थिइन् । मृत्यु हुने बेला उनको शरीरको तौल ३० किलो मात्र भएको उनका साथीहरुले बताएका छन् ।
 
टिमटिक र उनका साथी आयटाक उन्साललाई इस्तानबुलको सिलिव्री जेलमा राखिएको थियो । स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि उनीहरुलाई अस्पताल सारिएको थियो । गत फेब्रुअरीमा उनीहरुले जेलमै भोकहड्ताल सुरु गरेका थिए ।
 
गत अक्टोबरमा टर्कीको पुनरावेदन अदालतले टिमटिकसहित १८ जनालाई तल्लो अदालतले सुनाएको लामो जेल सजायको फैसललाई सदर गरेको थियो । उनीहरुलाई प्रतिबन्धित माक्र्सवादी संगठनमा आबद्ध भएको आरोपमा मुद्दा चलाइएको थियो । 
 
टिमटिक र अन्य १७ जना वकिललाई क्रान्तिकारी जनमुक्ति पार्टी फ्रन्ट९डीएचकेपीसी० सँग आबद्ध भएको आरोप लागेको थियो । उक्त संगठनलाई टर्की, अमेरिका र युरोपेली युनियनले आतंकवादी संगठनको संज्ञा दिएका थिए ।
 
टिमटिकलाई १३ वर्ष ६ महिना र उन्साललाई १० वर्षभन्दा बढी जेल सजाय सुनाइएको थियो । वकिलहरुको समूहले भने आफूहरुमाथि लगाइएको मुद्दामा अदालतले विश्वसनीय प्रक्रिया नचालेको भन्दै पुनरावेदन अदालत गएका थिए । तर पुनरावेदनले तल्लो अदालतको फैसलालाई नै सदर गरिदिएको थियो ।
 
टर्कीको प्रतिपक्षी पार्टी पिपुल्स डेमोक्रेटिक पार्टीका सांसद गारो पेलानले ‘सत्तामा रहेका तानाशाहहरुले टिमटिकको हत्या’ गरेको आरोप लगाएका छन् । टिमटिकको मृत्युपछि उनको समर्थनमा टर्कीमा विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन् । ‘इब्रु टिमटिक अमर छिन्’ भन्दै उनको समर्थनमा धेरै ठाउँमा प्रदर्शन भइरहेको छ ।