टी-ट्वान्टी सिरिजमा इंग्ल्यान्डको जित

भाद्र २०,२०७७

-

भदौ २०, २०७७ काठमाडौं ।
अष्ट्रेलियासँगको तीन खेलको टी-ट्वान्टी सिरिजमा घरेलु टोली इंग्ल्यान्डले १-० को अग्रता बनाएको छ ।
 
शुक्रबार साउथह्याम्प्टनमा भएको खेलमा इंग्ल्यान्डले अष्ट्रेलियामाथि २ रनको रोमाञ्चक जीत निकाल्दै सिरिजमा १-० को अग्रता बनाएको हो ।
 
इंग्ल्यान्डले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन मात्र जोड्न सक्यो ।
 
एक समय सहज जिततर्फ उन्मुख देखिएको अष्ट्रेलियालाई जितका लागि अन्तिम २ ओभरमा १९ रन आवश्यक रहेको थियो । १५ औं ओभरदेखि १९ औं ओभरसम्म लगातार विकेट गुमाउँदै कुनै बाउन्ड्री प्रहार गर्न नसक्दा अष्ट्रेलिया दबाबमा परेको थियो ।
 
१९औं ओभरमा क्रिस जोर्डनले एक रन आउटसहित ४ रन मात्र खर्चेपछि अष्ट्रेलियालाई अन्तिम ओभरमा १५ रन आवश्यक थियो ।
 
अन्तिम ओभरको पहिलो बल डट खाएपनि स्टोइनिसले दोस्रो बल छक्का प्रहार गरे । तेस्रो बलमा डट खाएका स्टोइनिसले चौथो र पाँचौ बलमा २-२ रन जोडे ।
 
अन्तिम बलमा जितका लागि ५ रन चाहिएको अवस्थामा स्टोइनिसले २ रन मात्र जोड्न सके । उनी १८ बलमा २३ रन जोड्दै नटआउट रहे । उनले आफ्नो इनिङमा १ छक्का मात्र प्रहार गरे ।
 
इंग्ल्यान्डका लागि जोफ्रा आर्चर र आदील राशिदले २(२ विकेट लिँदा मार्क वुडले १ विकेट हात परे । क्रिस जोर्डनले १९औं ओभर र टम करनले २०औं ओभरमा कसिलो बलिङ गरेपछि इंग्ल्यान्डले जित हात पारेको हो ।
 
त्यसअघि अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्च र डेविड वार्नरले पहिलो विकेटका लागि ९८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तर, पनि अष्ट्रेलियाले खेल जित्न सकेन । दोस्रो खेल आइतबार साउथह्याम्पटनमै हुनेछ ।