नेसन्स लिग: क्रोएसियालाई हराउदै पोर्चुगलको शानदार जित

भाद्र २१,२०७७

-

भदौं २१, २०७७ काठमाडौं ।
कप्तान क्रिस्टियानो रोनाल्डोबिनै यूईएफए नेसन्स लिगको सुरूवात गरेको पोर्चुगलले क्रोएसियामाथि ४-१ को जित दर्ता गरेको छ ।
 
नेसन्स लिगको साविक विजेता पोर्चुगलले विश्वकप उपविजेता क्रोएसियामाथि एकपक्षीय खेल प्रदर्शन गर्‍यो ।
 
पहिलो हाफमा ४१औं मिनेटमा जोआओ क्यान्सेलोले गरेको गोलबाट अग्रता लिएको पोर्चुगलले दोस्रो हाफमा तीन गोल गर्‍यो ।
 
पोर्चुगलका लागि डीओगो जोटाले ५८औं मिनेटमा अग्रता दोब्बर पारे । उनले राफेल गुरेरोको पासलाई सदुपयोग गरेका थिए ।
 
७०औं मिनेटमा एटलेटिको म्याड्रिडका युवा फरवार्ड जोआओ फेलिक्सले गोल गरे । खेलको ९०औं मिनेटमा आन्द्रे सिल्भाले पेपेको पासमा गोल गर्दै फराकिलो जीत पक्का गरे ।
 
क्रोएसियाका लागि इन्जुरी समयको दोस्रो मिनेटमा पेट्कोविचले एक गोल फर्काए । खुट्टाको औँलामा माहुरीले टोकेपछि इन्फेक्सनले मैदान उत्रन नसकेका रोनाल्डोले अर्को खेल पनि गुमाउने सम्भावना रहेको बताइएको छ ।