म्याच फिक्सिङ आरोपमा खेलाडीलाई दिएको अभियोग नै गलतः सर्वोच्च

भाद्र २२,२०७७

-

भदौ २२,२०७७ काठमाडौं ।
 
सर्वोच्च अदालतले म्याच फिक्सिङको आरोप लागेका खेलाडीलाई सफाइ दिँदा उनीहरुलाई लगाएको अभियोग नै गलत भएको बताएको छ ।
 
न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले गत असार २ गते गरेको फैसलाको हालै सार्वजनिक पूर्णपाठमा म्याच फिक्सिङको विषय राज्यविरुद्धको अपराध भन्न नमिल्ने उल्लेख गरेको छ ।
 
विदेशमा भएको खेलमा नेपाली फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, खेलाडीहरु विकाश सिंह क्षेत्री र रितेश थापा, प्रशिक्षक अञ्जन केसी र फिजियो डेबिज थापाले पैसा लिएर जानीजानी खेल हारेर राज्यविरुद्धको अपराध गरेको भनी सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध जन्मकैदको सजाय माग गरेको थियो ।
 
‘विदेशी भूमिमा नेपाल राष्ट्र र नेपालीको प्रतिष्ठाको रुपमा रहेको अन्तर्राष्ट्रिय तथा मैत्रीपूर्ण फुटबल खेल हारी नेपालको राष्ट्रिय झण्डा, राष्ट्रिय गान, राष्ट्रिय एकताको प्रतीकको रुपमा रहेको फुटबल खेलप्रेमी आम नेपाली जनताको स्वाभिमान र आत्मसम्मानमा चोट पुर्‍याई अन्तर्राष्ट्रिय फुटबलप्रति जनताहरुमा घृणा र द्वेष फैलाएको’ अभियोग खेलाडीहरुलाई लगाइएको थियो ।
 
तर, सर्वोच्चले खेलाडीहरुले गरेको काम राज्यविरुद्धको अपराध नभई म्याच फिक्सिङको विषय भएको ठहर गरेको छ । ‘‘विवादित कार्यलाई राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ को दफा ३ मा वर्णित राष्ट्र विप्लवको कसूर भन्दै दफा ३.१ बमोजिमको सजाय माग गरिएको अवस्था रहेकामा सो ऐन नै आकर्षित हुँदैन भन्ने यस इजलासको दृष्टिकोण रहेको छ ।’
 
राज्यविरुद्धको कसुर गर्न हिंसात्मक गतिविधि र अव्यवस्था फैलाउने काम गरेको हुनुपर्ने फैसलामा उल्लेख छ