भारत र चीनबीच सीमा क्षेत्र पूर्वीलद्दाखमा फायरिङ

भाद्र २३,२०७७

-

भदौं २३,२०७७ काठमाडौं ।
दुई छिमेकी मुलुक भारत र चीनबीच सीमा क्षेत्रमा फायरिङ भएको छ ।
 
सोमबार राति भारत(चीनबीचको विवादित पूर्वी लद्दाखमा भारतले चेतावनी फायरिङ गरेपछि चीनले पनि जवाफी फायरिङ गरेको चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले जनाएको छ ।
 
भारतीय सेनाले सीमा पार गरेर फायरिङ गरेको र अवस्थालाई स्थिर गर्न बाध्य भएर जवाफी कारवाही गर्नुपरेको चिनियाँ सेनालाई उदृत गर्दै टाइम्सले जनाएको छ ।
 
भारतीय समाचार एजेन्सी एएनआइले समेत पूर्वी लद्धाखको सीमामा फायरिङ भएको उल्लेख गरेको छ ।
 
चीनको सेनाका प्रवक्ता सिनियर कर्नेल जोंग शियुलीले विज्ञप्ति जारी गर्दै भारतीय सेना भारत(चीन सीमा पार गरेर पन्गोग त्सो लेकको दक्षिणी किनाराको पहाड नजिक शेनपाओ पहाडको इलाकामा घुसेको बताएका छन् ।
 
चीनले यो उलंघनपछि भारत र चीनबीच पछिल्लो पटक बनेको सहमतिको गम्भीर उल्लंघन भएको जनाउदै तनाव बढ्न सक्ने संकेत गरेको छ ।
 
चीनले यसबाट दुवै पक्षमा असमझदारी बढ्ने र यो कदम सेनालाई उत्तेजित बनाउने कदम भनेको छ । चीनले भारतलाई सीमा क्षेत्रमा यस्ता गतिबिधी बन्द गर्न र सीमाबाट सेना फिर्ता लैजान आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ ।
 
केही दिनअघि भारत र चीनका रक्षामन्त्रीको मस्कोमा छलफलपछि भएको यो घटनाले अब तनाव थप बढ्ने संकेत देखिएको छ ।
 
चिनियाँ सेनाले सीमावर्ती भारतीय राज्यबाट पाँचजना नागरिकहरूलाई कब्जामा लिएको समेत भारतले दाबी गरेको छ ।