Trending :
 

आर्थिक प्रसङ्ग

यतीले १ अर्बमा एटिआर जहाज ल्याउँदै

श्रावण ०५,२०७४

-

५ श्रावण,काठमाडौं- 

निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी यती एयरलाइन्सले करिब १ अर्ब रुपैयाँ लगानीमा एकथान जहाज ल्याउने भएको छ।

फ्रान्सको जहाज निर्माता कम्पनी एटिआरमा निर्मित ७२ सिटे 'एटिआर७–२५००' सिरिजको उक्त जहाज दुईदेखि चारदिनभित्र काठमाडौं आउने छ।

यतीले लामो समयपछि जहाज परिवर्तन गर्न लागेको हो। हाल यतीले बेलायतमा निर्मित ३० सिट क्षमतायुक्त 'जेटस्ट्रिम–४१' सिरिजका ६ थान जहाज सञ्चालन गरिरहेको छ। केही दिनभित्रै काठमाडौं आउने जहाज लिन यतीको टोली अहिले सिंगापुर पुगेको छ।

'जहाज भाडा र बिक्री गर्ने सिंगापुरको कम्पनी नर्डिक एभिएसन क्यापिटलसँग खरिद गरिएको जहाज बढीमा चार दिनभित्र काठमाडौं आइपुग्नेछ ।

यतीका मिडिया म्यानेजर भीमराज राईका अनुसार, ‘’तालिकाअनुसार बुधबारै अवतरण गर्ने भए पनि केही कागजी प्रक्रिया पूरा नभएकाले आउन सकेन। अब थप दुई/तीन दिन लाग्ने भएको हो ।‘’

नयाँ जहाज लिन यतीका अपरेसन डाइरेक्टर तथा वरिष्ठ क्याप्टेन प्रमोद पौडेलको नेतृत्वमा पाइलट, इन्जिनियर लगायतको टोली सिङगापुर गएको छ।