वीरगञ्जमा बाराकी कोरोना संक्रमित महिलाको मृत्यु

भाद्र ३०,२०७७



भदौं ३०,२०७७ काठमाडौं।
बाराका एक कोरोना संक्रमितको उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको हो ।
 
उनको उपचारको क्रममा सोमबार साँझ उनको मृत्यु भएको अस्पतालका प्रवक्ता एवम् बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए । उनलाई सोमबार बिहान नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
 
मधुमेह र हाइपरटेन्सनको समस्याले ग्रसित उनमा कडा कोभिड निमोनिया देखिएको थियो । तत्कालै आइसियू कक्षमा राखेर उपचार शुरु गरिएको थियो । जिन एक्सपर्ट विधिबाट कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।
 
योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ । साउनयता मात्रै ५८ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।
 
वीरगञ्जमा मृत्यु भएका ६२ जनामध्ये ४१ जना पर्साका छन्, दुई जनाको ठेगाना खुलेको छैन भने बाराका १४, रौतहटका ४ जना र सर्लाहीका १ जना छन् ।