असोज १ गतेबाट हवाई टिकट बुकिङ खोल्ने तयारी

भाद्र ३०,२०७७

-

भदौं ३०,२०७७ काठमाडौं ।
सरकारले आन्तरिक उडान खुल्ने मिति तोकेसँगै वायुसेवा कम्पनी अब बुकिङ खुलाउने तयारीमा जुटेका छन् । त्यसअगाडि कम्पनीहरु कुन कुन गन्तब्यमा उडान गर्न पाइने र कुनमा नपाइने भन्ने विस्तृत निर्देशनको तयारीमा छन् ।
 
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीका अनुसार सरकारले अहिलेसम्म उडान खुला हुने गन्तब्यको सूची दिइसकेको छैन । ‘हामीलाई सूची आएपछि त्यसका आधारमा वायुसेवा कम्पनीलाई परमिट दिन्छौं,’ उनले भने ।
 
उनका अनुसार पहिलो चरणमा सबै गन्तब्यमा शतप्रतिशत उडान भने खुल्ने छैनन् ।
 
‘सम्भवतः एक तिहाई उडान मात्र पहिलो चरणमा खुल्नेछन्,’ उनी भन्छन्, ‘त्यही अनुसार वायुसेवा कम्पनीले उडान अनुमति पाउने छन् ।’
 
यसअघि १ भदौबाटै उडान खोल्ने निर्णय सरकारले गरेको थियो । सोअनुसार पनि प्राधिकरणले पहिलो चरणमा साविकमा हुँदै आएको उडानको ३३ प्रतिशत मात्र अनुमति दिने गरी वायुसेवा कम्पनीलाई उडानको अनुमति दिएको थियो ।
 
तर, कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि काठमाडौं उपत्यकासहित शहरहरुमा निषेधाज्ञा लागू भयो । त्यसपछि उडान समेत पर सरेको हो । पछिल्लो समय सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५ असोजबाट आन्तरिक उडान खोल्ने निर्णय लिएको हो ।
 
उता, कम्पनीहरु भने १ असोजबाट बुकिङ खुलाउने तयारीमा छन् । एक वायुसेवा सञ्चालकका अनुसार सरकारले त्यो दिनसम्म गन्तब्य नतोके सबै गन्तब्यका लागि टिकट बुकिङ खुल्नेछ ।