तीन दिन अधिकांश स्थानमा वर्षाको सम्भावना,सतर्क रहन आग्रह

भाद्र ३१,२०७७

-

भदौ ३१,२०७७ काठमाडौं ।
आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
 
मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबारसम्म देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए ।
 
शुक्रबारसम्म राति तथा बिहानीपख बढी वर्षा हुने गर्दछ, यो मनसुन अन्त्य हुने पूर्वको क्रियाकलाप हो’, मौसमविद् पौडेलले भने ।
 
मनसुन अन्त्य हुने औसत समय सेप्टेम्बर २३ भएकाले अब नेपालमा एक साता मनसुन सक्रिय हुन सक्ने उनले बताए ।
 
हाल देशभर सामान्य बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
 
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव आठ र अधिकतम तापक्रम २८ दशमलव तीन डिग्री सेल्सियस छ ।
 
आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३५ दशमलव दुई डग्री सेल्सियस रहेको छ ।