अन्तराष्ट्रिय प्रसङ्ग
श्रावण ०६,२०७४
-एजेन्सी
६ श्रावण/नयाँ दिल्ली-
भारतीय जनता पार्टी नेतृत्वको एनडीएका प्रत्यासी रामनाथ कोविन्द विपक्षी उम्मेदवार मीरा कुमारलाई पराजित गर्दै भारतको १४औं राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
कोविन्दले निर्वाचक मण्डलको ६५ प्रतिशत बढी मत प्राप्त गरे भने विपक्षी उम्मेदवार मीरा कुमारले करिब ३४ प्रतिशत मत प्राप्त गरिन् । राष्ट्रपति पदमा निर्वाचित हुनुअघि उनी बिहारको राज्यपाल थिए । अब उनले राष्ट्रपति प्रणव मुखर्जीको स्थान लिनेछन् ।
वर्तमान राष्ट्रपति मुखर्जीको कार्यकाल यही २४ जुलाईमा समाप्त हुँदै छ । त्यसको भोलिपल्ट उनले राष्ट्रपति पदको शपथ लिएर कार्यभार सम्हाल्नेछन् । मुखर्जी पूर्वलोकसभा अध्यक्ष पीए संगमालाई हराएर भारतको राष्ट्रपति बनेका थिए ।
राष्ट्रपतिमा निर्वाचित भएलगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘मलाई समर्थन गर्ने सबै दललाई धन्यवाद, यो मेरा लागि निकै भावुक क्षण हो । मेरो जित लोकतन्त्रको महानताको प्रतीक हो । राष्ट्रपतिका रूपमा निर्वाचित हुनु ठूलो जिम्मेवारी पनि हो । राष्ट्रपति बन्नु मेरो लक्ष्य थिएन तर ममाथि भरोसा गर्नेप्रति आभारी छु ।’
उनले आफू ‘सर्वे भवन्तु सुखिनः’ को सिद्धान्तअनुसार चलेको समाजको हरेक वर्षका लागि काम गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । १७ जुलाईमा भएको भारतको १४औं राष्ट्रपति निर्वाचनको मतगणना बिहीबार बिहान ११ बजे संसद् भवनमा सुरु भएको थियो । नयाँ राष्ट्रपति चयनका लागि ९९ प्रतिशतले भाग लिएका थिए । मतगणनामा कोविन्दको पक्षमा ६५ दशमलव ६५ प्रतिशत मत आएको थियो भने मीरा कुमारको पक्षमा ३४ दशमलव ३५ प्रतिशत मत आएको थियो । रामनाथ कोविन्दलाई ७ लाख २ हजार ४४ भ्यालु भोट प्राप्त भयो भने मीरा कुमारलाई ३ लाख ६७ हजार ३ सय १४ भ्यालु भोट प्राप्त भएको थियो ।
भारतको राष्ट्रपतिमा निर्वाचित भएकोमा कोविन्दलाई विभिन्न देशबाट बधाई आएको छ । उनी निर्वाचित भएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाईसहित दुईवटा तस्बिर सार्वजनिक गरेका छन् । ट्वीटरमा सार्वजनिक गरिएका दुई तस्बिरमध्ये एक २० वर्षअघिको र एक हालैको रहेको थियो । ट्वीटरमा उनले लेखेका छन्, ‘चाहे २० वर्षअघि होस् या अहिले सधैं गर्वको अनुभूति भएको छ ।’ उनले मीरा कुमारलाई लोकतान्त्रिक तरिकाले चुनाव प्रचार गरेकोमा धन्यवादसमेत दिएका छन् । मतगणनाको पहिलो र दोस्रो दुवै चरणमा कोविन्दले मीरा कुमारलाई फराकिलो मतान्तरले पछि पारेका थिए ।
पहिलो राउन्डको तथ्यांकअनुसार एनडीए उम्मेदवार रामनाथ कोविन्दलाई ५ सय ५२ सांसदको भोट आएको थियो भने मीरा कुमारको पक्षमा २ सय २५ भोट आएको थियो । यद्यपि राष्ट्रपति चुनावमा सबैभन्दा बढी मत पाउनेबित्तिकै जित सुनिश्चित हुँदैन । सांसद र विधायकको भोटको कुल ‘वेटेज’को आधाभन्दा बढी हिस्सा जसले पाउँछ, उही भारतको राष्ट्रपति बन्छ ।
यूपीएकी प्रत्यासी मीरा कुमारले राष्ट्रपति निर्वाचनको नतिजाप्रति प्रतिक्रिया दिँदै भनिन्, ‘आज २० जुलाई २०१७ मा म एउटा कुुरा स्पष्ट गर्न चाहन्छु कि विचारधारालाई लिएर मेरो लडाइँ अन्त्य भएको छैन, यो जारी रहन्छ ।’
प्रमुख समाचार
सम्वन्धित समाचार