बैंक तथा वित्तीय संस्थाहरुलाई असोजभित्र स्थिर ब्याजदर तोक्न निर्देशन

आश्विन ०२,२०७७

-

असोज २,२०७७ काठमाडौं ।
असोजभित्र स्थिर ब्याजदर तोक्न राष्ट्र बैंकले निर्देशन दिएको छ । घर, गाडीलगायत आवधिक प्रकृतिका कर्जामा बैंक तथा वित्तीय संस्थाले यही असोजभित्रै स्थिर ब्याजदर तोक्नुपर्ने भएको छ।
 
एकीकृत निर्देशिकाको व्यवस्था भन्दै पहिलो चरणका लागि स्थिर ब्याजदर निर्धारण तथा प्रसारण गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । यसअघिको निर्देशनकै आधारमा केही बैंक तथा वित्तीय संस्थाले स्थिर दर प्रकाशन गरिसकेका छन्।
 
‘कर्जा अवधिभर परिर्वतन नहुने गरी तोकिने स्थिर ब्याजदर पहिलो पटकमा लागि ०७७ असोज मसान्तभित्र निर्धारण तथा प्रकाशन गर्नुपर्ने बेहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ,’ निर्देशनमा भनिएको छ।
 
भुक्तानी अवधि एक वर्षभन्दा बढी भएका व्यक्तिगत आवधिक कर्जा ९घर, गाडीलगायत० मा बैंक तथा वित्तीय संस्थाले स्थिर ब्याजदर लागू गर्नुपर्नेछ। अब त्यस्ता कर्जामा सुरुमा कर्जा लिँदा तय भएको ब्याजदरमा परिवर्तन गर्न पाइनेछैन।
 
‘एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाको ब्याजदर परिवर्तन नहुने गरी स्थिर ब्याजदर कायम गर्नुपर्नेछ,’ निर्देशनमा उल्लेख छ, ‘यस प्रयोजनका लागि इजाजतपत्र प्राप्त संस्थाले एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आवधिक कर्जाको ब्याजदर भुक्तानी अवधिभर परिवर्तन नहुने गरी स्थिर ब्याजदर निर्धारण गर्नुपर्नेछ।’
 
ग्राहक स्वयंले इजाजतपत्र प्राप्त संस्थाको आधार दर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहे ग्राहकको अनुरोधमा परिवर्तनीय ब्याजदर कायम गर्न पाउनेछन्।